
सि.टा.समाचारदाता
सिमकोट । किसानले हिउदको चार महिनाका लागि पशुबस्तु पाल्नका लागि घाँसको भण्डारण गर्नु परेको छ । हिउदको समयमा बनमा घाँस नपाउने र पाएपनि सुकेको र कम पाईने भएको कारण किसानहरुले यसरी घाँसलाई भण्डारण गर्नु परेको हो ।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका दाने फडेराले हिउदको चार महिना पशुवस्तु पालनका लागि कातिक र मङ्सीर महिनामा काटेर भण्डार गरि घाँस राख्नु परि रहेको बताए । यसरी प्रत्येक किसानले घाँस काँटेर एक ठाउँमा हिउदे वर्षा र हिउबाट बच्ने गरि राख्ने गरिन्छ । उनले यसरी भण्डारण गरिएको घाँस आगामी बैशाख महिनासम्म पशुलाई पालनका लागि पुर्याउनु पर्ने जानकारी दिए ।
यो घाँस काटेर राख्न किसानले चार देखि पाँच दिन समय लगाउनु पर्छ । उक्त वडाको वडा अध्यक्ष अखिर कार्कीले यसरी घाँस काटेर भण्डारण नगरे पशुलाई पाल्नै नसकिने भएको कारण यो जोहो गर्नै पर्ने बाध्यता रहेको बताए ।
किसानले आफ्नो घरमा पशुको सङ्ख्या हेरेर घाँस काँटेर मौज्दात गर्ने गरेका छन । आफ्नो मौज्दात घाँस नपुगे छिमेकीबाट किनेर पनि पशु पाल्नु पर्ने अवस्था रहन्छ । यसरी भण्डारण गरिएको घाँस हिमपात भएको बेला दिनमा तीन पटक र अन्य बेला बेलुका पशुलाई दिने गरिन्छ ।
साँढे एक देखि दुई किलो तौल भएको घाँसको मुठ्ठा पारेर राख्ने गरिन्छ । यस्ता घाँसका मुठ्ठा एउटै परिवारले एक हजार पाँच सयसम्म मौज्दात गरेर राख्ने गरिन्छ । उक्त गाउँमा मात्र यसरी घाँसलाई भण्डारण नगरि जिल्लाभरका किसानले पशुपालनका लागि घाँस काँटेर राख्दै राख्दै आएका छन् ।
हिउदका महिनामा हरियो घाँस नपाईने भएको कारण किसानहरुले यो जुक्ति अपनाउनु भएको हो । यो घाँस जौ, उवा र गहुँ बाली छर्ने बेला र चैतमा कातिके बाली छर्ने बेला पनि जोत्ने गोरुलाई खुवाउने गरिन्छ । एक वर्ष अगाडी सम्म यसरी किसानले काटेर राखेको घाँस बिक्री हुने भएको कारण आम्दानीको श्रोत पनि हुने गरेको थियो ।























