सि.टा.समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले पून चामल र चिनी छुटमा बिक्री सुरु गरेको छ । लिमिटेडले सामाजिक उत्तरदायित्व र चाडपर्व लक्षित कार्यक्रम अनुसार देशभर यसअघि सर्वसाधारणका लागि उक्त खाद्यान्न छुटमा बिक्री गर्दा त्यसका लागि बिनीयोजित बजेट बचेपछि उक्त रकमबाट हुम्लामा पून छुटमा बिक्री गर्न लागिएको हो ।
लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरले यसअघि माघ २ गतेसम्म छुटमा खाद्यान्न बिक्री गरिएकोमा पून त्यसलाई निरन्तरता दिने कार्य भएको बताए । यो छुटमा बिक्री सुरु गरिएको खाद्यान्नमा चामल र चिनी रहेको छ । उनले देशभर छुटका लागि निवीयोजित बजेट बचेको कारण लिमीटेड हुम्ला शाखाको अनुरोध एक हजार क्वीन्टल चामल र साँढे दुई सय क्वीन्टल चिनी हुम्लामा छुटमा बिक्री हुने बताए ।
यसअघि सात हजार आठ सय क्वीन्टल खाद्यान्न छुटमा बिक्री बितरण गरिएको थियो । गत असोज ६ गतेबाट शाखा कार्यालय सिमकोटबाट सात हजार ४३४ दशमलव २५ क्वीन्टल र श्रीनगर डिपोबाट ४५८ दशमलव ७५ क्वीन्टल चामल प्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गरिएको थियो ।
चार महिना अवधिमा २६ लाख ७५ हजार ४५० रुपियाँ बराबर मुल्यको खाद्यान्न छुटमा जिल्लाका सिमकोट शाखा र अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट बिक्री गरिएको हो । यसमा प्रतिकेजी ९५ नब्बे पर्ने मसिनो चामल नब्बे रुपियाँमा बिक्री गरिएको थियो भने ७४ रुपियाँ प्रतिकेजी पर्ने सोना मोटो चामल ६९ रुपियाँमा बिक्री गरिएको थियो ।
त्यसैगरि अरुवा मोटो ६६ रुपियाँ प्रतिकेजी पर्ने चामलको ६१ रुपियाँमा बिक्री गरिएको थियो । त्यसैगरि यो अविधमा प्रतिकेजी सात रुपियाँ छुटमा छ हजार ३५० लिटर खाने तेल र पाँच रुपियाँ छुटमा ७१ क्वीन्टल चिनी पनि सर्वसाधारणलाई बिक्री गरिएको थियोे । तीन किसिमका खाद्यान्नमा छुट पाएपछि सर्वसाधारणले राहत महशुस गरेका थिए ।
















