सि.टा समाचारदाता
सिमकोट । गत आइतबार रातिबाट देशभर इन्टरनेट सेवा प्रभावित हुँदै आएको छ । प्रमुख इन्टरनेट सेवाप्रदायक नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेटमा पनि समस्या भएको हो । वल्र्डलिङ्क, डिसहोम, एनसेल, भायनेटसहित धेरै जस्तो निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा अवरुद्ध भएको छ ।
विशेषतः पटक पटक इन्टरनेट विच्छेद हुने, गति सुस्त हुने र नेट देखिए पनि नचल्ने समस्या भएको छ । नेपाल टेलिकमका अनुसार भारतीय कम्पनीमा निर्भर नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीमा समस्या देखिएको हो । प्राविधिक समस्या समाधान गर्ने सन्दर्भमा अध्ययन भइरहेको छ । नेपालमा इन्टरनेट सेवाका लागि ब्यान्डविथ पाउने कम्पनी एयरटेल र टाटा हुन् ।
अहिले एयरटेलमा आएको प्राविधिक गडबढीले यो समस्या देखिएको हो । पछिल्लो २४ घण्टादेखि नै समस्या थियो भन्ने सूचना पनि आएको छ तर विशेष गरी आइतबार राति ९ बजेदेखि समस्या बढी देखिएको छ ।




















