
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ५ मा निर्माण गरिएका संरचना प्रयोगमा आउन सकेका छैनन् । जुन प्रयोजनका लागि निर्माण गरिएका भएपनि ती पुर्वधारका संरचनाहरुलाई हालसम्म प्रयोगमा आउन नसक्दा बेवारिसे अवस्थामा पुगेका हुन । वडाको लागि खाद्यक गाउँमा निर्माण गरिएका चार वटा संरचनाहरु हालसम्म प्रयोगमा आउन नसकेको वडा अध्यक्ष चिन रावतले स्वीकार गरे ।
दुई देखि छ वर्ष अगाडी निर्माण भएर हालसम्म सञ्चालनमा आउन नसकेका संरचनाहरुमा सामुदायीक भवन, सामुदायीक स्वास्थ्य इकाई भवन, पुस्तकालय भवन र सार्वजजनिक शौचालय रहेका छन् । यी संरचना निर्माण भएर बेवारिसे अवस्थामा रहेको भएपनि वडा कार्यालय स्थापना कालदेखि भाडाको भवनमा बस्दै आएको छ ।
वडा अध्यक्ष रावतले जे जे प्रयोजनका लागि निर्माण गरिएका पुर्वाधारमा संंरचना भएपनि सामुदायीक स्वास्थ्य इकाई भवन सञ्चालन गर्नका लागि जनशक्ति र फर्निचरको ब्यवस्था नहुँदा संचालनमा आउन नपाएको बताउदै पुस्तकालय भवन बने पनि आवश्यक सामाग्री नभएको कारण सञ्चालनमा आउन नसकेको बताए ।
सामुदायीक भवन पहिले स्थानीयवासीहरु गाउँको सामुहिक वैठक वस्ने गरेको भएपनि हाल भवनमा ताला लाग्दै आएको छ । वडाको लागि कार्यालय भवन नवने कै कारण वडा ती संरचना निर्माण गरिएका स्थानमा बस्न नसकेको कारण निर्माण भएको संरचना बेवारिसे अवस्थामा रहेका छन् ।
त्यसैगरि सार्वजनिक शौचालयको अवस्था पनि निर्माण भएर प्रयोग बिहीन हुँदा जिर्ण हुने देखिएको छ । पुस्तकालय भवनको भने अज्ञाप ब्यक्तिले झ्याल ढोकाको सिसा फुटाउने र झ्याल तोड्ने कार्य गरिएको छ । यी नयाँ निर्माण गरिएका संरचनाहरुलाई घेरवार गर्ने कार्य गरिएको भएपनि जारी र काँडेतारको घ्ेरवार जिर्ण भएर भूइृमा लतारिएको अवस्था छ भने फलामका खम्वाहरु उखेलेर लगिएका छन् । बनेका संरचनाहरु बेवारिसे भएपछि वडावासीको माग वडा कार्यालय त्यतै सरेर भएपनि यी संरचनाको जगेर्ना गर्नु पर्ने रहेको छ । नयाँ आर्थिक वर्षमा बजेटको ब्यवस्था गरेर ती संरचनाको केही मर्मत र घेरवार गरेर प्रयोगमा ल्याउन तयारीमा वडा रहेको छ । ती संरचना निर्माण गरिएका संरचनाहरुको जग्गा समेत वडाले नै खरिद गरेको हो । यी संरचना निर्माणका लागि मात्र करिब दुई करोड बजेट खर्च भएको छ ।















