सि.टा. समाचारदाता
सिमकोट । संघीय सरकार र प्रदेश सरकारको सह लगानीमा कार्यान्वयन हुने खार्पु– सिमकोट नमूना एकिकृत पुर्वाधार आयोजनाको टेण्डर खुलेको छ । एक वर्ष अगाडीबाट लागु हुनु पर्ने उक्त आयोजना कर्णाली प्रदेशको भौतिक पुर्वाधार कार्यालयले श्रोतको सुनिश्चित गरेपछि पुर्वाधार बिकास कार्यालय हुम्लाले टेण्डर आव्हान गरेको हो ।
कैलाश गेट वेको रुपमा सदरमुकाम सिमकोटलाई बिकास गर्नका लागि खार्पू–सिमकोट–नमूना एकीकृत पूर्वाधार विकास बहुवर्षीय आयोजनाको टेण्डर आव्हान भएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले जानकारी दिए ।
तीन वर्षे निर्माण अवधि रहेको सो आयोजना अब बाँकी दुई वर्षमा सम्पन्न गर्नु पर्नेछ । यसअघि आयोजनाका लागि वर्षेनी सङ्घ र प्रदेश सरकारबाट बजेटको ब्यवस्था हुने गरेको कारण आयोजनाको कुल लागत समेटेर टेण्डर आव्हान हुन सकेको थिएन । अघिल्लो आवमा अठार करोड बजेट विनियोजित भएको भएपनि आयोजनाको कुल कुल बजेटको श्रोत सुनिश्चित नहुँदा टेण्डर आव्हान नै नभई बजेट फ्रिज गएको थियो ।
अव आयोजनाको कुल लागतका लागि मन्त्रालयले श्रोत सुनिश्चित गरेको कारण निर्माण अवधि बाँकी दुई वर्ष सवै काम गर्नु पर्नेछ । एक हप्ता अगाडी भौतिक पुर्वाधार मन्त्रालयले ८४ करोड बजेटको सुनिश्चितता गरेपछि आयोजना निर्माणको बाटो खलेको हो । बिभिन्न छ वटा भौतिक पुर्वाधार संरचनाको निर्माणका लागि अब कार्यान्वयन चरण सुरु भएको छ ।
यो आयोजनाबाट खार्पुनाथ गाउँपालिकाको खार्पुनाथ सङ्ग्राहलय निर्माण हुने छ भने सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटको सडक निर्माण, बालमन्दिर माध्यामिब विद्यालय भवन, सिमकोट फुटपाथ, सिमकोट बस पार्क र बाडपाल माडुको निर्माण गरिने छ ।
यी संरचनाको डिपिआर समेत एक वर्ष अगाडी तयार भई सकेको छ । चालु आर्थिक वर्षमा तीस करोड बजेट समेत विनियोजित भएको आएको बताउदै अब टेण्डरबाट निर्माण कम्पनीन छनौट भएपनि निर्माण कार्य सुरु हुने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश सभामा हुम्ला जिल्लाका ख नम्बर क्षेत्रका सासद एवं पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले ढिलै गरि भएपनि प्रदेशको गौरभको आयोजना सुरु भएकोमा खुसी ब्यक्त गरे । यो योजना सम्पन्न पश्चात सदरमुकामको मुहारै फेरिने बताउदै उनले यसको सफल कार्यान्वयनका लागि सवै सरोकारवाला पक्षले सहयोग गर्नु पर्ने बताए । झण्डै आयोजना नै रद्ध हुने अवस्थामा पुगेको बेला सवैको सहयोगले गर्दा आयोजना कार्यान्वयनमा आएको छ ।
















