सि.टा समचारदाता
खाँदा, हाँस्दा बोल्दा हाम्रो मुख चलिरहन्छ। चलिरहने मुखबाट नमिठो आउने गन्धले व्यक्तिको व्यक्तित्वमा नराम्रो प्रभाव पार्ने गर्छ। यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ। कुनै पनि व्यक्तिलाई सास गन्हाउने भन्ने आफैंलाई थाहा हुँदैन। आफ्नो सास आफैंलाई नगन्हाउने हुँदा आफनो पार्टनर, साथीभाइ वा परिवारका सदस्यहरूले थाहा पाउँछन्। तर, लामो समयदेखि मुख गन्हाउने समस्या भइरह्यो भने जटिल समस्याहरू निम्तिन सक्छन्।
यसलाई मेडिकल भाषामा हालिटोसिस भनिन्छ। मुख गन्हाउने समस्याले धेरैलाई दुःख दिएको हुन्छ। साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ। तर, कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ। मुख गन्हाउनुका धेरै कारण हुन सक्छन्। जस्तै- गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाइ नहुनु आदि।
धेरैले मुख वा सास गन्हाउने समस्यालाई सामान्य मान्छन्। तर, कहिलेकाहीं यो गम्भीर रोगको संकेत पनि हुन सक्छ। त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ।
लोकल र जनरल कारणले मुख वा सास गन्हाउने हुन्छ। मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा दाँतको कापमा तथा मुखमा फोहोर जम्मा भएर बसेमा पनि त्यहाँ अड्किएका फोहोरका कारण मुख तथा सास गन्हाउने गर्छ। यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, श्वास प्रश्वास नलीमा, मिर्गौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुन्छ।
घाँटी र छातीको इन्फेक्सन हुँदा पनि सास गन्हाउँछ। पेटसम्बन्धी समस्या, ग्यास्ट्रिकका बिरामीमा पनि अमिलो डकार आउँदा सास गन्हाउन सक्छ। कानको समस्याका कारण पनि सास गन्हाउन सक्छ।
लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ। यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ। फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ।
कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुन्छ। त्यसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ। मिर्गौलाको समस्या हुँदा पनि मुखबाट गन्ध आउने गर्छ।
यस्तै, गिजाको समस्याका कारण पनि मुख गन्हाउने हुन्छ। मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ, जसको कारण मुख गन्हाउन थाल्छ। प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ खाँदा पनि मुख गन्हाउँछ।
लक्षण
– मुखबाट दुर्गन्ध आउनु– पेट खाली हुँदा झन् बढी सास गन्हाउनु– गिजाबाट पिप आउनु
के गर्ने ?
– धेरै गुलियो खाद्यपदार्थ नखाने। खाइहालेमा खानेबित्तिकै मुख कुल्ला गर्ने।– धुम्रपान, मद्यपान नगर्ने।– जंकफुड नखाने।– साँझबिहान राम्रोसँग दाँत माझ्ने। जिब्रो सफा गर्ने।– दाँतमा कीरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने– मुखको कुनै रोग भए उपचार गर्ने।– प्रशस्त मात्रामा पानी पिउने।– खानेकुरा खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्ने।– ६-६ महिनामा दन्त चिकित्सककोमा गई परीक्षण गर्ने।– सास गन्हाएमा दन्त चिकित्सककोमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।
















