
सि.टा. समाचारदाता
सिमकोट । सम्झौता भएको साँढे दुई वर्ष बिति सक्दा पनि कर्णाली नदी माथि दुई वटा पक्की पुलको निर्माण कार्य सुरु हुन सकेको छैन । पुर्वाधार बिकास कार्यालयले बहुवर्षीय योजनाका रुपमा निर्माण कार्य सम्पन्न गर्न चार वर्षे अवधि राखे कै कारण दुई वटा पक्की पुलको हालसम्म निर्माण कार्य हुन नसकेको हो । कर्णाली नदी माथि खार्पुनाथ गाउँपालिकाको याङ्चु बगर र लाली बगरमा पक्की पुल निर्माण गर्न पुर्बाधार बिकास कार्यालय निर्माण कम्पनीसंग साँढे दुई अगाडी सम्झौता गरेको भएपनि हालसम्म निर्माण कार्य अगाडी नवढेको होे ।
पुल निर्माणका लागि पटक पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कुनै सुनुवाई हुन नसकेको कार्यालयको भनाई छ । । पुल निर्माणका लागि सम्झौता पत्रमा चार वर्षे अवधि राखेको कारण पुल निर्माण नहुनुको मुख्य कारण रहेको हो । निर्माणका लागि ताकेता गर्ने कार्य भने जारी छ ।
ती दुवै पुल निर्माणका लागि २०७९ साल जेठ २७ गते सम्झौता भएर २०८४ साल जेठ ११ गते सम्पन्न गर्ने मिति राखिएको छ । पुल निर्माणका लागि यति लामो अवधि राख्न नहुनेमा कार्यालयको यहीनेर कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो । यसका लागि कार्यालयले सुर्या एजएम शृया जेभीसंग सम्झौता गरेको छ ।
जसमा याङ्चु बगरको पक्की पुल निर्माणका लागि १७ करोड लागत लाग्ने गरि बजेटको ब्यवस्था गरिएको छ भने लालि बगरका लागि चौध करोड लागत लाग्ने गरि सम्झौता गरिएको छ । यी दुवै पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयले २०७७ साल मङ्सीर ८ गते बहुवर्षीय योजनाका रुपमा स्वीकृत दिदै बजेटको सुनिश्चितता गरेको थियो ।
यसअघि सडक सञ्जान नजोडिएको कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको भने पन्छिने निर्माण कम्पनीलाई गत असारमा कर्णाली करिडोर खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिएपछि अब कुनै बहानाबाजी गर्ने छुट नभएको खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाही बताए । राज्य भन्दा निर्माण ब्यवसायी ठुलो देखिए कै कारण खार्पुनाथ गाउँपालिका–२,३ र ४ का वस्तीहरु सडक सञ्जालसंग जोडिन नपाएको उनको भनाई छ ।
याङ्चु बगरमा पुल निर्माण नभएकै कारण वडा नम्बर ४ को तुम्लिङदेखि नल्नसम्म सडक निर्माण भएपनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । अर्को कुरा लाली बगरमा पक्की पुल नबन्दा हाल सो क्षेत्रको कर्णाली नदीमा तुईन निर्माण गरेर थाली र लाली गाउँका स्थानीय जोखिम उठाएर नदी वारपार गरि ररहेका छन् ।











