सि.टा. समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना हेप्का खोलामा निर्माणधिन पक्की पुलले सम्झौताको आठ वर्ष पछि पुर्णता पाउन लागेको छ । सो पुलको निर्माण कार्यमा सघाउ पुर्याउदै आएको हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि पुलले पुर्णता पाउन लागेको हो ।

निर्माण कम्पनीलाई धेरै ताकेता र परिपत्र गरेको परिणाम हेप्का खोलाको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले । उक्त पुल सम्झौता भएको आठ वर्षपछि निर्माण कार्य पुरा हुन लागेको होे । पुलको ढलानका लागि सवै तयारी भई सकेको र चिसोको कारण सिमेन्टको काम हुन नपाएपछि हाल रोकिएकोले अव चाँडै ढलान कार्य सुरु हुने छ ।
पुल ढलान र एप्रोज रोड निर्माण हुने बित्तिक्कै पुल निर्माण कार्य सम्पन्न हुने छ । सो पुलको निर्माण कार्य अगाडी बढाउनका लागि निर्माण कम्पनी पक्षलाई धेरै पटक आयोजनाले ताकेता गर्नु परेको थियो भने हालसम्म गरि पाँच पटक त म्याद थप नै भएको छ । पुलको लम्बाई पच्च्ीस मिटर रहेको छ भने तेह्र मिटर उचाई रहेको छ ।

निर्माण कम्पनी पक्षका स्थानीय प्रतिनिधि प्रेमबहादुर शाहीले चिसोको कारण ढलान गर्न नसकिएको र निर्माण सामाग्री निर्माण स्थलमा पुगि सकेकोले अव चाँडै काम सम्पन्न हुने बताए । पुल निर्माणका लागि निक्कै समय लागेको बताउदै उहाँले अव जति सक्दो चाँडो पुल निर्माण गरेर हस्तान्तरणमा लाग्ने बताउनुभयो ।
आर्थिक वर्ष ०७४।०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पुल निर्माणका लागि २०७४ साल साउन १५ गते निर्माण कम्पनी सपना धुलिखेल जेभीसंग आयोजनाले सम्झौता गरेर २०७६ साल साउन १५ गते सम्पन्न गर्नुपर्ने थियो ।
यसका लागि निर्माण कम्पनीले दश करोड ४८ लाख ८८ हजार ९४५ रुपियाँमा आयोजनासंग सम्झौता गरेको थियो । यसअघिस डक सञ्जाल नजोडिएको कारण निर्माण सामाग्री ढुवानी गर्न कठिन र त्यसपछि कोरोनाको कारण काम अगाडी बढाउन नसकिएको निर्माण कम्पनी पक्षले जनाउदै आएको थियो ।












