कर्णाली करिडोरको हुम्ला खण्डमा छ वटा पक्की पुल बन्ने

फोटो क्याप्सन सिमकोट गाउँपालिका– ४ को स्याम्ने खोलामा निर्माण हुन लागेको नयाँ पक्की पुलको लम्वाई नाप्ने कार्य हुँदै ।। तस्बिर : सि.टा

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म छ वटा नयाँ पक्की पुल निर्माण हुने भएका छन् । हाल यो खण्डका खोलाहरुमा यातायातका साधन पानी तरेर वारपार गर्ने भएको कारण हिल्सा सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गर्ने भएको हो ।

सडकको अवस्था हेर्न सलीसल्ला पुग्नु भएका आयोजनाका योजना प्रमुख बल बहादुर नेपालीका अनुसार सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका– ४ को स्याम्ने खोलासम्मको पचास किलो मिटर सडकको दरीमा पर्ने छ वटा खोलाहरुमा पक्की पुल निर्माण हुने छ । यी सवै खोलाहरुमा हाल पुल निर्माण नभएको कारण साना ठुला यातायातका साधनहरु खोलाको पानी तरेर वापार गरि रहेका छन् ।

वर्खायाममा ती खोलामा पानी बढ्ने भएको कारण तर्न पनि कठिन हुने भएको कारण अब पक्की पुल निर्माण प्रकृया अगाडी बढेको छ । पक्की पुल निर्माण हुने खोलाहरुमा सिमकोट गाउँपालिकाको स्याम्नेमा पचपन्न मिटर लम्बाईको पुल बन्ने छ भने खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु खोलामा २२ मिटर लम्बाईको पुल निर्माण हुनेछ

यता खार्पुनाथ गाउँपालिका कै सुनाखाडा खोलामा एक सय मिटर लामो पुल निर्माण हुनेछ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाको गिउसी खोलामा तीस मिटर लामो पुल बन्ने छ भने ठेली खोलामा तीस मिटरको पुल निर्माण हुनेछ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा चालीस मिटर लामो पक्की पुल निर्माण हुनेछ ।

सर्केगार्ड खोलामा पानी ठुलो भएको कारण साना सवारी साधनहरु काठेपुल तर्दै आएका छन् । प्रमुख नेपालीले यसका लागि संभाव्यता अध्ययनका लागि बजेटको ब्यवस्था भई सकेको र चाँडै संभाव्यता अध्ययन गरेर डिपिआर तयार हुने जानकारी दिए । आगामी आर्थिक वर्षमा यी छ वटै पुल निर्माणका लागि बजेटको ब्यवस्था हुने र ठेक्का समेत लाग्ने निश्चित भएको हो ।

करिडोरको यो खण्डमा सलीसल्लामा बेलिब्रीज निर्माण गरिएको छ भने खार्पुको दोजाम कर्णाली नदी माथि पक्की पुल निर्माणधिन अवस्थामा रहेको छ । गाडी चालक पुरन रावतले नयाँ पक्की पुल बन्न लागेकोमा खुसी ब्यक्त गर्दै अव यातायातका साधनलाई पानी तर्नु पर्ने बाध्यता चाँडै अन्त्ये हुने बिस्वास ब्यक्त गरे । खोलामा पानी तर्नाले अधिकाँस यातायातका साधनहरुको मेशिनमा समस्या आउने गरेको छ ।