सि.टा.समाचारदाता
सिमकोट । भेडा बाख्रा पालन ब्यवसाय बृद्धि भएको छ । यो ब्यवसायबाट आर्थिक आम्दानी हुन थालेपछि किसानहरु यसको ब्यवसायीक पालनमा फर्कनु भएको हो ।
सिमकोट गाउँपालिका– ८ को साँताको लिगुडे खेतमा भेडाबाख्रा पालक किसान प्रेमबहादुर मल्लले छोडी सकेको पेशालाई सुरु गरेको बताए ।
१२० वटा भेडाबाख्रा भएका मल्लले यसबाट आम्दानीको श्रोतका साथै खेतीका लागि गोठे मल पनि उत्पादन हुने भएको कारण यो ब्यवसायमा फर्किएको बताए । अघिल्लो वर्ष एक सय वटा भेडाबाख्रा किनेर मल्लले यसको ब्यवसायीक पालन सुरु गर्नु भएको हो । यसवर्ष बीस वटा बृद्धि भएका छन् ।
गाउँमा एक हजार नौ सय भेडाबाख्रा हाल पालन हुँदै आएका छन् । केही दिन अगाडी मात्र सो वडाका ब्यवसायी जग्ग बुढाले एक सय भेडबाख्रा किनेर पालन सुरु गरेका छन ।
त्यसैगरि सिमकोट गाउँपालिका– ७ को डाँडाफयामा पनि पछिल्लो दुई वर्षयता भेडा बाख्रा पालन ब्यवासय फस्टाई रहेका छन् । पहिले भोटबाट नुन र औलबाट चामल ढुवानी कै लागि भेडाबाख्रा पालन हुने गरेको भएपनि अब भने प्रत्यक्ष रुपमा आर्थिक कमाईका लागि यो ब्यवसाय गर्न थालिएको हो ।
यो ब्यवसायबाट आर्थिक उपार्जन गर्न सहज भएको कारण पनि किसानहरु ब्यवसयीक रुपमा पालनमा लाग्ने सङ्ख्या बढेको हो । सिमकोट गाउँपालिका पशु स्वास्थ्य शाखाका नायव पशु प्राविधिक बिष्णु बुमीले गाउँपालिका भर चौध हजार ५४५ वटा भेडाबाख्रा रहेको बताए ।
जव कि दुई वर्ष अगाडीसम्म नौ हजार भेडाबाख्रा उक्त गाउँपालिकामा रहेका थिए । उनले एक्कासी भेडाबाख्र्रा पालनमा किसानहरु आर्कषित हुनुमा प्रत्यक्ष रुपमा कमाई हुने र मल पनि उत्पादन गर्न सकिने भएको कारण भेडाबाख्रा पालनमा आर्कषित भएको बताए ।
अर्को कुरा शाखाले वर्षको दुई पटक गोठ गोठमा पुगेर भेडाबाख्राको उपचार गर्ने भएको कारण रोगबाट बचाउन पनि सहज भएकोले भेडाबाख्रा पाल्ने सङ्ख्या बृद्धि भई रहेको छ । गाउँपालिकोले अनुदानमा पनि भेडाबाख्रा सहयोग गर्दै आएको छ । एउटा भेडाको मुल्य हुम्लामा पैतीस हजारसम्म पर्छ भने खसीको पनि तौल हेरेर तीन हजारसम्म पर्ने गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ४ बाहेक अन्य सबै वडामा ब्यवसायीक रुपमा किसानहरु भेडाबाख्रा पालनमा लाग्न थालेका छन् । ।
















