प्रशासकीय अधिकृत हालसम्म ब्यवस्था गर्न नसकेको जनप्रतिनिधिको मन्त्रालय प्रति आक्रोशित

फोटो क्याप्सन सर्केगार्ड गाउँपालिकाको कार्यालय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका एक महिना भन्दा बढी समयसम्म संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशसकीइ अधिकृत ब्यवस्था गर्न नसकेको आक्रोश ब्यक्त गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि ती गाउँपालिकामा काम गर्दै आएका निमित्तको जिम्मेवारी खोसेर नयाँ शाखा अधिकृत खटाएको भएपनि खटिएका प्रशासकीय अधिकृत गाउँपालिकामा सम्पर्क मै नआएको कारण जनप्रतिनिधिहरु रुष्ट देखिएका हुन ।

गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले गत माघ १० गतेबाट गाउँपालिकामा आर्थिक कारोवार पुर्ण रुपमा बन्द रहेकोले सेवाग्राही मर्कामा परेको र कर्मचारीले पारिश्रमिक समेत खान नपाएको बताउदै मन्त्रमलयले अन्याय गरेको बताईन । मन्त्रालयले सिमकोट गाउँपालिकाका लागि गोबिन्द प्रसाद आचार्यलाई खटाएको भएपनि उहाँ पनि जनप्रतिनिधि र गाउँपालिकाको सम्पर्कमा नआएको उनको भनाई छ ।

कर्मचारी खटिएको एक महिनासम्म पनि आफ्नो कार्यस्थलमा नपुग्नु भनेको सरकारलाई समेत नटेरेको बताउदै उनले गाउँपालिकाका जनप्रतिनिधिहरु काठमाडौंमा मन्त्रालयमा डेलिगेशन पुगेर नयाँ खटाएकालाई छिटो पठाउने ब्यवस्था गर्न वा पुरानालाई अर्को ब्यवस्था नहुँदासम्म जिम्मेवारी दिने ब्यवस्थाका लागि आग्रह गर्दा सुनुवाई नभएको गुनासो उनको छ ।

अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले गत माघ ९ गतेबाट गाउँपालिकामा आर्थिक कारोवार हुन नसकेको बताए । यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाईएका कर्मचारीबाट अधिकार खोसेर मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत खटाएको भएपनि हालसम्म आफ्नो सम्पर्कमा त के गाउँपालिका केन्द्रमा समेत नआएको कारण ठुलो समस्या भई रहेको उनले बताए ।

प्रशासकीय अधिकृत गाउँपालिकामा नआएको कारण भुक्तानी दिने, तलब भत्ता बुझ्ने र योजनाको सम्झौता गर्ने कार्य समेत रोकिएका छन् । मन्त्रालयले खटाएका कर्मचारी एक महिना भन्दा बढी समयसम्म आफ्नो कार्यस्थलमा नपुग्दासम्म समेत मन्त्रालय मौन बस्नु गाउँपालिका प्रति अन्याय भएको उनको भनाई छ । उक्त गाउँपालिकामा मन्त्रालयले ताम्रराज काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको थियो ।

त्यसैगरि यो समस्या भोग्नेमा जिल्ला दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका पनि परेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनको गाउँपालिकामा निमित्तको अधिकार रोकेको भएपनि मत्रालयले नयाँ समेत खटाउन सकेको छैन । यसले गर्दा खोलिएको ठेक्का रद्ध भएको, नयाँ सम्झौता नभएको, कर्मचारीले पारिश्रमिक नपाएको, सम्पन्न कामको भुक्तानी हुन नसकेको होे ।

अधिकार माथिले खोसेर स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिहरुलाई काम गर्न मनोवल गिराउने कार्य भएको उनको भनाई छ । त्यसैगरि सम्पुर्ण रुपमा गाउँपालिकाका कामहरु ठप्प भएको बताउदै ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले अधिकार खोस्ने तर ब्यवस्था गर्न नसक्नु बिडम्बना भएको बताए ।

उनले आफ्नो गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत खटाउन पनि नसकेको गुनासो गर्दै मन्त्रालय सचिवलाई भेट्दा दुई चार दिनमा खटाउने मात्र जवाफ आउने गरेको बताए । यसरी गाउँपालिका चलाउन नसकिने बताउदै संघियताको मर्म माथि खेलवाड गरिएको आरोप उनको छ ।

सो गाउँपालिकामा डेढ महिनादेखि आर्थिक कारोवार ठप्प हुँदै आएको छ । यता सर्केगार्ड गाउँपालिकाको अवस्था पनि उस्तै रहेको छ । सर्केगार्डका लागि मन्त्रालयले दिलिप खड्कालाई प्रशासकीय अधिकृतका रुपमा खटाएको भएपनि नी पनि हालसम्म गाउँपालिकामा पुगेका छैनन् ।