सि.टा. समाचारदाता
सिमकोट । जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नका लागि खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माण कार्य अगाडी बढेको छ ।
गत पुसमा नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार दोजाम कर्णाली नदी माथिको बेलिब्रीज निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय कार्यान्वयनमा आएपछि बेलिब्रीज निर्माण कार्य अगाडी बढेको हो ।
खार्पुको दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माणको कार्य अगाडी बढेको नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्य दलका प्रमुख अम्रित पराजुलीले बताए । सो बेलिब्रीज निर्माणका लागि गत फागुन ११ गते टेण्डर आव्हान भएको र आगामी चैत १० गते उक्त टेण्डर खोल्ने कार्य हुने छ ।
यसअघि नेपाली सेनाले कर्णाली करिडोर कै दुल्लीकुनादेखि लाली बगर क्षेत्रको काम सम्पन्न गरेको भएपनि हालसम्म सुनाखाडामा सेनाको निर्माण दल बस्दै आएको छ । सोही दलले खार्पुको बेलिब्रीजको निर्माण कार्य सुरु गर्ने छ ।
सुनाखाडा क्षेत्रको सडक निर्माणका क्रममा प्रयोग भएका कम्प्रेशर मेशिन, स्काभेटर, जेसीभी लगाएतका मेसिनरी सामानहरुको हाल मर्मत कार्यमा सेना लागेको छ । अबको बीस दिन दिनमा खार्पुमा बेलिब्रीज निर्माण कार्य सुरु हुने र सुरु भएको मितिले तीन महिना भित्र बेलिब्रीजको निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारीका सेना रहेको छ । खार्पुमा ५२ मिटर ( १७० फिट ) लामो बेलिब्रीज निर्माण हुनेछ । सो बेलिब्रीज निर्माण भएर सञ्चालनमा आएप्छि मात्रै सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिनेछ ।
खार्पुको दोजाम कर्णाली बेलिब्रीज नबने कै कारण गतवर्ष उक्त नदी पारिपट्टीसम्म यातायातका साधनहरु आउने गर्दै आएका छन् । त्यसैगरि सेनाले करिडोर कै खार्पुनाथ गाउँपालिका– १ मा पर्ने बोक्चेगौडा, भिगौडा र याङ्चु कुनाको चट्टानी भीरको लेवल मिलाउने कार्य पनि यही अवधिमा पुरा हुनेछ ।
अव हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसंग जोडिने कार्य बेलिब्रीजको निर्माण कार्यसंग हुने र त्यो दिन धेरै टाढा रहेको छैन । सो क्षेत्रमा कच्ची सडक खोल्ने कार्य भएको भएपनि लेवल नमिलेको कारण यातायातका साधनहरुलाई असजिलो गरि गुड्ने कार्य भई रहेको छ । उक्त सडक एक किलो मिटर लामो रहेको छ ।












