सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड बजारको वजार अनुगमन गर्ने कार्य भएको छ । उक्त बजारमा म्याद गुज्रेका सामाग्री धेरै भएको सुचनाका आधारमा अनुगमन गरिएको हो । जिल्लाको सदरमुकाम सिमकोट पछिको मुख्य बजारका रुपमा हेरिएको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजारमा प्रयोगका लागि अयोग्य सामाग्री कम भेटिएको छ ।
सोमबार गरिएको बजार अनुगमनका क्रममा पसलहरुको अवस्था हेर्दा यस्तो पाईएको हो । तुलनात्मक रुपमा सदरमुकाम सिमकोट भन्दा सर्केगार्ड बजारमा उपभोक्ताको प्रयोगका लागि अयोग्य सामाग्री कम भेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले बताए ।
उनले बजार अनुमगनका क्रममा पसलहरुमा राखिएको सामान हेर्दा एक दमै न्यून मात्रामा उपभोक्ताहरुका लागि प्रयोगका लागि अयोग्य सामाग्री भेटिएको बताए । सर्केगार्ड बजारका २५ वटा पसलहरुको अनुगमन गर्दा पेश पदार्थ र केही मिठाई मात्र प्रयोगका लागि अयोग्य भेटिएको उनले बताए ।
यसरी प्रयोगका लागि अयोग्य भेटिएको सामाग्रीहरु सात हजार ७३० रुपियाँ मुल्यको रहेको उनले बताए । त्यसैगरि उनले सर्केगार्ड बजारमा मासु पसल पनि ब्यवस्थित रुपमा सञ्चालन गरिएको पाईएको बताए । मासु पसल सफा हुनका साथै मासुलाई सुरक्षित राख्नका लागि फ्रिज पनि सफासंग राखिएको भेटिएको थियो ।
केही समय अगाडी सर्केगार्ड बजारमा म्याद गुज्रेका सामानहरुको बिक्री बिगबिगी भएको सुचना आएको थियो । यस्ता सुचना बाहिर आउपछि कार्यालयले जिल्ला प्रशासन कार्यालयका समन्वयमा बजार अनुगमन कार्य गरेको हो । अनुगमन कार्यमा गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सीना लगाएतको सहभागिता रहेको थियो ।
















