सि.टा. समाचारदाता
सिमकोट । हाल गाउँपालिकामा कार्यरत मध्य बरिष्ठका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत खटाउने कार्य सुरु गरेको छ । करिव दुई महिनादेखि स्थानीय तहहरु प्रशासकीय अधिकृत बिहीन अवस्थामा रहेको भन्दै मन्त्राललये यो उपाय अवलम्वन गरेको हो ।
मन्त्रालयका सचिव रविलाल पन्थले देशभर निमित्त प्रशासीय अधिकृत रहेका स्थानीय तहमा नयाँ कर्मचारी जिम्मेवारी दिन सुरु भएको बताए । उनले अर्को ब्यवस्था नहुँदासम्मका लागि हाल सम्वन्धित स्थानीय तह मै कार्यरत मध्य बरिष्ठ अधिकृतलाई निमित्तको जिम्मेवारी दिएर खटनपटन सुरु भएको बताए ।
यसको सुरुवात देशका अन्य स्थानीय तहमा सुरु भए जस्तै हुम्ला जिल्लामा पाँच वटा गाउँपालिका मध्य दुई वटामा पनि निमित्त प्रशासकीय अधिकृत खटाउने कार्य भएको मन्त्रालयले जनाएको छ । जसमा केही समय अगाडी सर्केगार्ड गाउँपालिकामा बरिष्ठका रुपमा कष्णकिशोर आचार्यलाई अर्को ब्यवस्था नभएसम्मका जिम्मेवारी दिईएको छ भने सिमकोट गाउँपालिकामा पनि शुक्रबार मन्त्रालयले परिपत्र पठाउदै हाल गाउँपालिकामा कार्यरत बरिष्ठ अधिकृत वर्षबहादुर फडेरालाई जिम्मेवारी तोकिएको छ । उनी हाल गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखका रुपमा काम गर्दै आएका छन् ।
त्यसैगरि अब चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाको समस्या पनि यसरी नै समाधान गरिने मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालय सिमकोट र सर्केगार्ड गाउँपालिकामा खटाएका अधिकृतहरु हुम्ला आउन नमानेपछि मन्त्रालय यो उपायमा जान बाध्य भएको हो । स्थानीय तहहरुले नयाँ ब्यवस्था गर्न वा पुरानालाई नै तत्कालका लागि जिम्मेवारी दिन अनुरोध गरेको भउपनि मन्त्रालयले त्यसलाई इन्कार गरेर गाउँपालिकामा कार्यरत बरिष्ठलाई जिम्मेवारी दिने काम सुरु गरेको हो ।
















