नेपाल विधार्थी संघद्धारा स्ववियु निर्वाचन घोषणपत्र जारी

सि.टा. समाचारदाता
सिमकोट । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो।

जारी घोषणापत्र अनुसार नेविसंघले स्मार्ट शिक्षाको नीति लिएको छ। हरेक विश्वविद्यालय तथा क्याम्पसमा डिजिटल लाइब्रेरी र निःशुल्क वाइफाइ व्यवस्थापन गरिने, विद्यार्थी स्वयंको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत् ज्ञान सिर्जना, संग्रह, र प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने र अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण, तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवासको व्यवस्था गर्न पहल गर्ने, व्यवहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको घोषणा पत्रमा उल्लेख छ।

नेविसंघले विगतमा आफूहरुले गरेको वाचा सबै पूरा गरेको बताउनुभयो। नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा इमानदार भएको उहाँको भनाइ छ। विद्यार्थी आन्दोलनलाई रिब्राण्डिङ गर्न आफूहरुले स्पार्क मुभमेन्टलाई अगाडि बढाएको घोषणपत्रमा उल्लेख गरेको छ ।

जारी घोषणपत्र चार भागमा विभाजन गरेको छ । ‘नयाँ युगको सुरुवातको लागि स्पार्क आन्दोलनको मुख्य उदेश्य’ भन्ने नारा सहित घोषणपत्र जारी गरेको स्ववियु निर्वाचन २०८१ घोषणपत्र तयारी समितिका संयोजक विकल राईको समुहले गरेको हो । घोषण पत्र जारी गर्ने कार्यक्रमका संघका अध्यक्ष दुजाङ शेर्पाको उपस्थिती रहेको थियो ।