लोग भण्डारी
सिमकोट । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सिमकोट स्थित गोदाममा नुनको मौज्दात राम्रो रहेको छ । यसवर्षको निर्धारित कोटाको नुन ढुवानी कार्य भई रहेको कारण नुन गोदाममा राम्रै रहेको छ ।
लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन हाल गोदाममा एक हजार ३९५ क्वीन्टल नुन मौज्दात रहेको बताए । यस आर्थिक वर्षको एक हजार एक सय क्वीन्टल नुनमा हालसम्म हवाई मार्गबाट ५८२ क्वीन्टल ढुवानी भई सकेको र बाँकी पनि ढुवानीको चरणमा रहेको कारण नुनको जिल्लामा समस्या नहुँने उनले बताए ।
उनले नुन लिने कोही नदोहोरिन भनेर नै नागरिकताको प्रतिलिपि लिने गरिएको बताए । नुन सिमित आउने र त्यसलाई कोही नदोरिउन र कोही नछुटोस भन्नका लागि यो नियम कार्यालयले बनाएर लिमिटेडले कार्यान्वयन गरेको हो ।
वडाको सिफारिस गर्दा पनि हुने तर वडा अध्यक्ष आवश्यक परेको बेला नभएको अबस्थामा पनि नुन बितरण गर्नका लागि नागरिकताको फोटोकपी पेश गर्ने गरिएको छ । यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एक जनालाई दश केजी नुन बिक्री गर्ने गरिएको छ ।
ढुवानी अनुदानको नुन खरिद गर्नका लागि सर्वसाधारणले नागरिकता अनिवार्य पेश गर्नु परेको छ । लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ताको मङ्गबार बिक्री हुने नुनका लागि उपभोक्ताहरुले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न सर्वसाधारणले यस्तो गर्नु परेको हो । नुन लिन सदरमुकामस्थित लिमिटेडको गोदाममा आउदा नागरिकता फोटोकपी वा नागरिकता बोक्नु पर्छ । नागरिकको फोटोकपि गर्दा दश रुपियाँ लाग्ने गर्छ ।























