सि.टा.समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने जिम्मा पाएको राष्ट्रिय गौरभको आयोजना हिल्सा सिमकोट सडक आयोजनालाई सुरुवाटै जनशक्तिको अभाव रहेको छ । दरवन्दी अनुसारको जनशक्ति खटाउन नसकेपछि जनशक्तिको समस्या देखिदै आएको हो ।
आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले राष्ट्रिय गौरभको आयोजनालाई हाल जनशक्ति अभाव रहेको बताए । पहिलो कुरा आयोजनाका लागि स्वीकृत दरवन्दी अनुसार जनशक्ति पनि हालसम्म पुर्ती सकेको छैन ।
स्वीकृत दरवन्दी अनुसार आयोजनाका लागि एक जना योजना प्रमुख, दुई जना ईन्जिनीयर र चार जना सवईन्जिनीयर रहेको दरवन्दी छ । तर हाल आयोजनामा कार्यरत एक जना योजना प्रमुख, एक जना ईन्जिनीयर र एक जना सवईन्जिनीयर मात्र कार्यरत रहेका छन् ।
हिमाली जिल्ला र दुर्गम भएको कारण कोही पनि आउन नमान्ने विभागले जनाउने गरेको छ । दरवन्दी अनुसारको जनशक्ति ब्यवस्थापनका लागि पटक पटक लिखित रुपमा माग गरे पनि ब्यवस्था हुन सकेको छैन ।
पटक पटक माग गर्दा पनि सुनुवाई हुन नसकेपछि अहिले भने माग गर्नै छोडेको र भए कै जनशक्तिबाट काम चलाउने गरिएको उहाँले बताउनुभयो । हाल आयोजनासंग पाँच वटा पक्की पुलहरु निर्माणधिन अबस्थामा रहेका छन् ।
ती पक्की पुलहरुमा नाम्खा गाउँपालिका– ४ को याङ्गार खोलाको पुल, ताग्रु खोला पुल र हेप्का खोलका पुल सिमकोट हिल्सा सडक अन्र्तगत पर्छन भने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी माथिका पुल र सर्केगार्ड गाउँपालिकाको थाहा खोला पुल रहेका छन् ।
भने सडक स्तरोन्नतीमा सिमकोट हिल्सातर्फ तुम्कोटदेखि हिल्सा सडक, नाँम्खा कै इलिङदेखि याल्वङ चौर, याल्वाङ चौरदेखि च्याछरासम्म र च्याछरादेखि सिमकोट गाउँपालिकाको सरिमासम्म गरि चार वटा सडक निर्माणका योजना निर्माणधिन अवस्थामा रहेका छन् ।
सिमकोट सलीसल्ला खण्डमा सिमकोट खार्पु, खार्पु लालीबगर, ल्याप्चेदेखि सलीसल्ला सडक योजनाहरु निर्माणधिन अवस्थामा रहेका छन् । यिनीहरु मध्य तीन वटा अन्तिम प्राविधिक मुल्याङ््कन समेत भई सकेको छ ।
योजना बढी र जनशक्ति कम भएपछि आफु पनि फिल्डमा खटिने गरेको बताउदै सबै योजनामा आवश्यकताका आधारमा जनशक्ति खटाउन समस्या भएको हो । आयोजनाबाट वर्षमा दुई देखि तीन पटक मात्र जनशक्तिहरु आउने गरेको गुनासो निर्माण ब्यवसायीको रहेको छ ।




















