सि.टा. समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना पर्ने हेप्का खोलामा सम्झौताको आठ वर्ष पछि पक्की पुलको ढलान कार्य भएको छ । सो पुलको निर्माण कार्यमा सघाउ पुर्याउदै आएको हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि पुलले ढलान हुन पाएको हो ।
निर्माण कम्पनीलाई धेरै ताकेता र परिपत्र गरेको परिणाम हेप्का खोलाको पक्की पुलको ढलान कार्य भएको आयोजनाले जनाएको छ । उक्त पुल सम्झौता भएको आठ वर्षपछि ढलान कार्य भएको होे । पुलको ढलानका लागि सवै तयारी भई सकेको र चिसोको कारण सिमेन्टको काम हुन नपाएपछि रोकिएको काम चैत महिना लागेसंगै ढलान कार्य भएको होे ।
पुलको ढलान काार्य भएको र अब एप्रोज रोड निर्माण हुने बित्तिक्कै पुल निर्माण कार्य सम्पन्न हुनेछ । सो पुलको निर्माण कार्य अगाडी बढाउनका लागि निर्माण कम्पनी पक्षलाई धेरै पटक आयोजनाले ताकेता गर्नु परेको थियोे । पुल यो अवस्थामा पुग्न हालसम्म पटक पटक गरि पाँच पटक त म्याद थप कार्य आयोजनाले गरेको छ । पुलको लम्बाई पच्चीस मिटर रहेको छ भने तेह्र मिटर उचाई रहेको छ ।
निर्माण कम्पनी सपना धुलिखेल जेभीका अनुसार निर्माण सामाग्री निर्माण स्थलमा पुगेको र पुल ढलानका लागि सरिया बाँध्ने कार्य यसअघि नै भएको भएपनि चिसोको कारण ढलान गर्न नसकिएको र गर्मी सुरु भएपछि ढलान कार्य भएको हो । पुल निर्माणका लागि निक्कै समय लागेको हो । अव जति सक्दो चाँडो पुल निर्माण गरेर हस्तान्तरणमा लाग्ने निर्माण कम्पनीले जनाएको छ ।
ढलान कार्य अन्तिम चरणमा पुगेकोले अब पुल निर्माण कार्य चाँडै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पुल निर्माणका लागि २०७४ साल साउन १५ गते निर्माण कम्पनी सपना धुलिखेल जेभीसंग आयोजनाले सम्झौता गरेर २०७६ साल साउन १५ गते सम्पन्न गर्नुपर्ने थियो । यसका लागि निर्माण कम्पनीले दश करोड ४८ लाख ८८ हजार ९४५ रुपियाँमा आयोजनासंग सम्झौता गरेको थियो ।
यसअघि सडक सञ्जाल नजोडिएको कारण निर्माण सामाग्री ढुवानी गर्न कठिन र त्यसपछि कोरोनाको कारण काम अगाडी बढाउन नसकिएको निर्माण कम्पनी पक्षले जनाउदै आएको थियो । सिमकोट हिल्सा सडक खण्डको यो तेस्रो पुलको ढलान कार्य भएको छ । यसअघि ग्याग्रु खोला र सल्ली खोलामा पुल निर्माण कार्य भई सकेको छ ।
















