नारा लेकको चार फिट हिउ छिचोलेर लिमी पुग्नु पर्ने बाध्यता

फोटो क्यापसन नारा लेकमा जमेके हिउमा हिड्दै लिमीका युवा । तस्बीर ः सौजन्य बिकल तामाङ

सि.टा. समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउ छिचोलेर स्थानीय बासिन्दा लिमी पुग्नु पर्ने बाध्यता रहेको छ । काम बिशेषले लिमीको हल्जी गाउँका स्थानीय गाउँ फिर्ता जानका लागि नाराको हिउ छिचोलेर जानु परेको हो ।

नाराको हिउ छिचोलेर हिल्सा हुँदै लिमी पुगेका स्थानीयले निक्कै कष्टका साथ हिउ छिचोल्नु परेको बताएक छन । काम बिशेषले गाउँपालिका केन्द्र आएको बेला हिउ परेर नारा लेकको हिल्सा र लिमी जाने बाटो बन्द भएपछि याल्वाङ मै रोकिएका शिक्षक बिकल तामाङले तीन जना साथीहरु मिलेर नारा लेकमा जमेको हिउ छिचोल्दै जानु परेको बताए ।

उनीहरु तीन जना युवाको टोली रहेको थियो । नारा लेकदेखि चोर लाग्नासम्मको सात किलोमिटर सडकमा तीनदेखि चार फिट हिउ जमेको छ । बाक्लो हिउ जमेको उक्त दुरी पार गर्न उनीहरुलाई पाँँच घण्टा समय लागेको थियो । हिउमा हिड्दा खुट्टाका औला समेत हिउले असर गरेको कारण हिड्न समेत समस्या भएको थियो ।

आफ्नो टोली भन्दा पहिले पनि तीन जना गएको देखिए पनि हिउमा हिड्न भने कठिन भएको छ । विद्यालय सञ्चालनमा रहेकोले एक्लै हिउमा जान नसकिने तर पछि दुई जना अन्य लिमी कै युवाहरु भेट भएपछि यसरी हिउ छिचोलेर जाने आँँट गरिएको उने बताए । गत माघ र फागुन सुरुमा परेको हिउ छिचोन्दै लिमीबाट ४३ जनाको टोली गत फागुन ६ गते नारा लेक काटेर सदरमुकाम सिमकोट आई पुगेको थियो ।

त्यसपछि पनि पटक पटक हिउ परेको कारण बाक्लो हिउ जमेको हो । बाक्लो हिउ छिचोल्दै लिमीका तीन जना युवा हिल्सा आई पुगेको प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरिक्षक ललितबहादुर रावतले बताए । अहिले पनि सडकमा हिउ बाक्लो जमेको कारण यसरी जोखिममा पैदन यात्रुहरुलाई आउजाउ नगर्न प्रहरी आग्रह गरेको छ ।

यसअघि फागुन अन्तिम साता सात जना पैदल यात्रुलाई सशस्त्र प्रहरी  बल र प्रहरी मिलेर  लेकको हिउमा फसेका अवस्थामा उद्धार गरेको थियो । मानिसहरु पैदल यसरी हिड् सकेपनि यातायातका साधनहरु सञ्चाल हुन भने समय लाग्ने देखिएको छ ।