याङ्चुकुनादेखि बोक्चेगौडासम्म सडक निर्माण कार्य सुरु

फोटो क्याप्सन सेनाद्धारा याङ्चुकुनामा सडक निर्माण हुँदै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्ला अन्र्तगतको याङ्चुकुनादेखि बोक्चेगौडासम्मको सडकको स्तरोन्नती गर्ने कार्य सुरु भएको छ । सो खण्डको असजिलो चट्टानी भीरको काम गर्ने जिम्मा सेनाले पाए अनुसार निर्माण कार्य सुरु भएको हो ।

करिडोरको यो खण्डको असजिलो र चट्टानी क्षेत्र भएको कारण राम्रोसंग ट्रयाक खुलाउने कार्य हुन नसेको कारण यसको स्तरोन्नती गर्ने कार्य सेनाले पाए अनुसार त्यसको निर्माण कार्य सुरु भएको नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख सेनानी अम्रित पराजुलीले बताए ।

जिल्ला बिपद समितिको बैठकले चैत २५ गतेबाट सो खण्डको सडकको निर्माण कार्य सुरु गर्ने निर्णय गरेको भएपनि सेनाले यातायात सेवा अवरुद्ध नहुने गरि सडकको स्तरोन्नती गर्ने कार्य सुरु गरेको होे । दुई समुहमा कामदार परिचालन गरेर सडक खन्ने र बिष्फोटका लागि होलहरु खोप्ने कार्य सुरु भएको छ ।

यो खण्डको आठ सय मिटर चट्टानी भीरमा सडक निर्माण सेनाले गर्नेछ । समय छोटो भएको कारण कामलाई तिब्रता दिनु पर्ने बाध्यतामा सेना रहेको छ । २५ गतेबाट बोक्चेगौडा, भिगौडामा समेत होल खोप्ने कार्य सुरु हुनेछ भने यातायात सेवा पुर्ण रुपमा बन्द हुनेछ । यता २५ गतेबाटै सेनाले खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णालीमा बेलिब्रीजको निर्माण कार्य समेत सुरु गर्ने छ ।

हाल खार्पुमा पनि बेलिब्रीज निर्माण स्थलमा खन्ने, ढुङ्गा जम्मा गर्ने कार्य सुरु गरि सकेको छ । आगामी असार मसान्तसन्न सेनाको निर्माण कार्य दलले यो काम सम्पन्न गर्ने गरि जिम्मेवारी पाएको छ । गत पुसमा हुम्लावासीको मागलाई सम्बोधन गर्दै नेपाल सरकार मन्त्री परिषदको बैठकले निर्णय गरेर उक्त काम सेनालाई जिम्मा लगाएको थियाे ।