तीन महिनादेखि यारी नाका भन्सार कार्यालय बन्द

फोटो क्याप्सन पछिल्लो समय देखिएको हिल्सा बजार । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय तीन महिना भन्दा बढी समयदेखि बन्द रहेको छ । हिउदको समयमा चीनको ताक्लाकोटबाट ब्यापार गरेर सामान नभित्रिने भन्दै बन्द गरिएको कार्यालय हालसम्म नखुलेको हो ।

हिल्सामा रहेका यारी नाका भन्सार कार्यालय हालसम्म ताला लगाएर बन्द रहेको हिल्साका स्थानीय छिरिङ लामाले बताएका छन् । भन्सार तथा अध्यागमन कार्यालयमा ताला लगाएर बन्द रहेको बताउदै उनले मानिसहरु चीनको ताक्लाकोट आउजाउ सुरु हुने समय भई सकेको बताएका छन् ।

कार्यालय स्थापना भएपछि काम हुँदैन भनेर यसरी बन्द गर्नु राम्रो नहुने बताउदै उनले कार्यालय बाह्रै महिना सञ्चालन हुनु पर्ने जनाए । उक्त कार्यालयका प्रमुख रामराज जैसीले हिउदमा कारोवार नहुने कुराको जानकारी बिभागलाई दिएर कार्यालय बन्द गरिएको बताए ।

भन्सार कार्यालय गत पुस १० गतेबाट बन्द गरिएको हो । चीनको ताक्लाकोटबाट सामानहरु हिउदमा नारा लेकमा जमेको हिउको कारण सडक बन्द हुने र ब्यापारीहरुको आउजाउ नहुने भएको कारण कार्यालय बन्द गरेर जिल्लामा फिर्ता भएको उनले बताए । चैतपछि मङ्सीर महिनासम्म ताक्लाकोट आउजाउ हुने भएको कारण सो समय हिल्सा मै बस्ने गरिएको छ ।

काम बिनै चिसोमा बस्नु भन्दा भन्सार र अध्यागमनमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर माथिल्लो निकायलाई जानकारी गराएर वर्षेनी आउने गरेका छन । अब यातायात सुचारु हुने समय आएको कारण चाँडै हिल्सामा गएर कार्यालय सञ्चालन गर्ने प्रमुख जैसीले बताए ।

हाल हिल्सामा सात जना स्थानीय, सशस्ब प्रहरी र नेपाल प्रहरी बस्दै आएको छ । हिल्साका ब्यापारी र चीनको ताक्लाकोटमा काम गर्ने हुम्लावासी समेत नाराको सडक सुचारु नभएको कारण पैदल हिडेर हिल्सा जानेक्रम सुरु भई सकेको छ । यता लिमीका स्थानीय पनि हिल्साबाटै लिमी जान सुरु भएको छ ।