लोग भण्डारी
सिमकोट । शान्तिपुर्ण रुपमा आन्दोलन गर्दै आएका हुम्ला जिल्लाका शिक्षकहरु पनि सरकार बिरुद्ध चर्का नारा लगाउन थालेका छन । देशभरका शिक्षकले काठमाडौंमा बिरोध गर्दा पनि सरकारले माग सुनुवाई गर्ने छाँट नदेखाएपछि सरकार बिरुद्ध चर्का नारा लगाउन सुरु गरिएको हो ।
नयाँ शैक्षिक सत्र फागुन २ गतेबाट सुरु भएको हिमाली जिल्ला हुम्लामा सोह्र दिनदेखि पठनपाठन कार्य ठप्प हुँदै आएको छ । काठमाडौं केन्द्रीत नेपाल शिक्षक महासंघको आन्दोलनलाई सर्मथन गदै हुम्लाका शिक्षकहरुले जिल्लामा आन्दोलनलाई जारी राख्दै आएको कारण विद्यालय बन्द हुँदै आएका हुन ।
जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभरका विद्यालयमा पठनपाठन ठप्प भएको नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताए । यसबाट बीस हजार भन्दा बढी बिधार्थीहरुको पठनपाठन कार्य प्रभावित भएका छन । उनले सरकरले समय मै महासंघले राख्दै आएका मागहरु सम्बोधन नगरेको कारण जिल्लामा पठनपाठन कार्य बन्द भएको बताए ।
सोह्र दिनदेखि हुम्ला जिल्लाभरका शिक्षकहरुले आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पुरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आफ्नो आन्दोलन जारी राख्ने बताएका छन । सदरमुकाम सिमकोटमा बिहीबार पनि सधा झै सिमकोट बजारको लोकतन्त्र चोकबाट शिक्षकहरुले चर्का नारा सहित र्याली निकालेर सिमकोट बजारको परिक्रमा गर्दै आन्दोलन गरेका छन ।
आन्दोलनलाई सहयोग पुग्ने नारा समेत लगाउने कार्य शिक्षकले गरेका थिए । र्याली पछि शिक्षा बिकास तथा समन्वय एकाईमा पुगेर धर्नाका परिणत भएको थियो । यो आन्दोलन काठमाडौं केन्द्रीत भएपनि हुम्लाका शिक्षकहरुले जिल्लामा पनि जारी राख्दै आएका हुन । चैत २० गतेबाट हुम्लाका शिक्षकहरुले लगातार आन्दोलन गर्दै आएका हुन ।
सडक मार्ग चैत २५ गतेबाट बन्द भएको छ भने हवाई मार्ग नियमित नभएको कारण काठमाडौं जान नपाएको कारण जिल्लामा शिक्षकले आन्दोलन गरेर समर्थन गरि रहेका छन् । जिल्लामा महासंघ गठन नभएको कारण महासंघका आवद्ध संघ संगठनले हडतालको नेतृत्व लिनका लागि संघ संगठनहरुलाई जिम्मेवारी तोकिएको छ ।





















