लोग भण्डारी
सिमकोट । आन्दोलनरत हुम्लाका सामुदायीक विद्यालयका शिक्षकहरुको मागलाई हुम्ला जिल्लाका राजनितक दलहरुले सर्मथन गर्ने क्रम बढ्दै गएको छ । पछिल्ला तीन दिन तीन राजनीति दलहरुले जिल्लामा शिक्षकहरुले गरि रहेको आन्दोलनलाई सर्मथन गरेका हुन ।
शनिबारको आन्दोलनलाई नेकपा एकिकृत समाजवादीका पोलिट ब्यूरो सदस्य हस्तबहादुर शाहीले शिक्षकहरु आन्दोलनरत स्थलमा पुगेर आफ्नो नैतिक सर्मथन भएको र अब शिक्षकका मागहरु सरकारले चाँडो पुरा गर्नु पर्ने बताए । उनको पार्टी सहित अब हुम्ला शिक्षकको आन्द्योलनलाई सर्मथन गर्ने दलको संख्या तीन पुगेको छ ।
बिहीबार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डा. दिपेन्द्र रोकाया र शुक्रबार नेपाली काँग्रेसका का.वा. सभापति कैलाश भण्डारी शिक्षकहरु धर्ना दिई रहेको स्थानमा पुगेर सर्मथन जनाएका छन् । यसअघि लोकतन्त्र चोकबाट शिक्षकहरुले नारा सहितको र्याली निकालेर सिमकोट बजार परिक्रम गरेका थिए ।
गत चैत २० गतेबाट जिल्लामा पनि हुम्ला शिक्षकहरु आन्दोलनरत रहँदै आएका छन । आज आन्दोलन सुरु भएको सत्रौ दिन भएको छ । यसले गर्दा जिल्लामा पठनपाठन ठप्प रहेको अवस्था रहेको छ ।
देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलन गरि रहेको अवस्थामा हुम्लाका शिक्षकहरुले यातायात असुविधा र खर्चिलो भन्दै आफ्ना प्रतिनिधि काठमाडौं पठाएको र बाँकीले जिल्ला मै आन्दोलन गरि रहेका छन् । शिक्षकहरुको आन्दोलनलाई राजनीति दलहरुबाट पनि जिल्लास्तरमा सर्मर्थन आउने क्रम जारी रहेको छ ।















