सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका बैशाख २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा हुने भएको छ । यसअघि गाउँपालिकाका सवै वडाहरु घोषित भई सकेको कारण अव सिंगो गाउँपालिका घोषणा हुन लागेको हो ।
घोषणाका लागि सवै चरण पुरा भई सकेको कारण अव ताँजाकोट गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए । स्वास्थ्य संस्थाहरुले सुरुमा जन्मेदेखि पन्द्र महिना र सोह्र देखि ५९ महिनाका बालबालिकाहरुलाई सबै खोप लगाउने कार्य पुरा गरि वडा स्तरमा अनुगमन गर्ने कार्य गरेर वडालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गरका थिए ।
स्वास्थ्य संस्थाले गरेको खोपका क्षेत्रमा गरेको कामको अनुगमन गाउँपालिका स्तरबाट गरेर निर्धारित उमेर समुहका सबै बालबालिकाले खोप लगाएको र खोप नलगाउने बालबालिका नभेटिएको कारण अब गाउँँपालिकालाई घोषणा गर्न लागिएको हो । यसका लागि सबै तयारी समेत पुरा भई सकेको उनले बताए । अब ताँँजाकोट तेस्रो गाउँपालिका हुनेछन ।
यसअघि सुरुमा चंखेली र यसपछि सिमकोट गाउँपालिकाले पनि पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरि सकेका छन् । अझै नाम्ख, खार्पुनाथ, सर्केगार्ड र अदानचुली बाँकी रहेका छन् । यो कार्यक्रम हरेक वर्ष गर्नुपर्छ ।












