सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा हुने कार्यक्रम सरेको छ । जिल्ला समन्वय समितिका प्रमुख र गाउँपालिकाका जनप्रतिनिधिहरुको आग्रहपछि यो कार्यक्रम पछि सारिएको हो ।
अब पछि सारिएको मिति बैशाख २८ गते रहेको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । यसका बिशेष गरि समन्वय प्रमुख शिबराज शर्मा र गाउँपालिकाका जनप्रतिनिधिको समयको कारण पछि सारिएको उनले बताए ।
यसअघि बैशाख २४ गते बुधबार गर्ने जानकारी गरिएको थियो । खोप समन्वय समितिले एक सुचना जारी गरेर सो कार्यक्रम पछि सारेको जनाएको छ । घोषणाका लागि सवै चरण पुरा भई सकेको कारण अव ताँजाकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित गर्न लागिएको हो । स्वास्थ्य संस्थाहरुले सुरुमा जन्मेदेखि पन्द्र महिना र सोह्र देखि ५९ महिनाका बालबालिकाहरुलाई सबै खोप लगाउने कार्य पुरा गरि वडा स्तरमा अनुगमन गर्ने कार्य गरेर वडालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएका थिए ।
स्वास्थ्य संस्थाले गरेको खोपका क्षेत्रमा गरेको कामको अनुगमन गाउँपालिका स्तरबाट गरेर निर्धारित उमेर समुहका सबै बालबालिकाले खोप लगाएको र खोप नलगाउने बालबालिका नभेटिएको कारण अब गाउँँपालिकालाई घोषणा गर्न लागिएको हो । अब ताँँजाकोट तेस्रो गाउँपालिका हुनेछन । यसअघि सुरुमा चंखेली र यसपछि सिमकोट गाउँपालिकाले पनि पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरि सकेका छन् । अझै नाम्ख, खार्पुनाथ, सर्केगार्ड र अदानचुली बाँकी रहेका छन् ।
























