न्यालु लेकको सडकमा जमेको हिउ फालियो

फोटो क्याप्सन न्यालु लेकको सडकमा जमेको हिउ पन्छाउदै स्काभेटर । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । एघार दिन लगाएर हिउ पन्छाएपछि सिमकोट लिमी लाप्चा सडक सञ्चालनमा आएको छ । सडकमा जमेको हिउ स्काभेटरबाट पन्छाउने कार्य भएपछि लामो समयपछि सो सडक सुचारु भएको हो ।

हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चा खण्डको न्यालु लेख खुलेको छ । पुर्वाधार बिकास कार्यालयका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको पाँच हजार मिटर उचाईमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलेको हो । एघार दिन लगाएर पाँचदेखि छ फिट अग्लो जमेको हिउ स्काभेटरले फाल्ने कार्य गरेको थियो ।

सो क्षेत्रको पाच् किलो मिटर हिउ पन्छाउने कार्य भएको हो , गत बैशाख १३ गते बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले न्यालु र नारा लेकमा जमेको हिउ दुई वटा कार्यालयले पन्छाउनु पर्ने निर्णय गरेको थियो । गत पुस, मंसिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमी–लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्ने पर्यटकहरू र नाम्खा गाउँपालिका –६ का स्थानीयवासीलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

हिउ पन्छाएपछि अब नेपाली भूमि लाप्चाबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ । वडानम्बर –६ को लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकोट आउजाउ गर्न पनि सहज भएको छ ।

यसअघि लिमीका स्थानीय पैदल हिडेर हिल्साबाट नारा लेक भएर आउजाउ गर्दै आउनु भएको थियो । अव भने आगामी मंङ्सीर महिनासम्म यो सडक सुचारु हुनेछ । नारा लेकमा जमेको हिउ पनि हिल्सा सिमकोट सडक योजनाले स्काभेटरबाट पन्छाउने कार्य गरेको थियो ।