साक्षर जिल्ला घोषित भएको हुम्ला जिल्लामा चौध सय जनसंख्या निरक्षर

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्ला साक्षर जिल्ला घोषित भएको भएपनि सात वटै गाउँपालिकामा गरि एक हजार चार सय जनसंख्या अझै निरक्षर रहेको पाईएको छ । राष्टिय साक्षरता सम्वन्धि मापदण्ड २०७६ अनुसार पञ्चानव्वे प्रतिशत जनसंख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषित गर्न सकिने भएपछि केही जनसंख्या निरक्षर भएपनि घोषणा गरिएको हो ।

पन्द्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी एक हजार चार सय जना निरक्षर रहेको शिक्षा बिकास तथा समन्वय इकाई हुम्लाले आफ्नो प्रतिबेदनमा देखाएको छ । जिल्लामा ९६ दशमलव ०४ प्रतिशत जिल्लावासी साक्षर रहेका छन भने तीन दशमलव९६ प्रतिशत निरक्षर छन ।

उक्त उमेर समुहका ३५ हजार ३५४ जनसंख्यामा ३३ हजार ९५४ जनसंख्या साक्षर छन । गाउपालिका अनुसार निरक्षर जनसंख्या यस्तो रहेको छ । नाम्खा गाउपालिकामा १११ जना, सिमकोटमा ३७१ जना, खार्पुनाथमा २९४, सर्केगार्डमा ३१४, चंखेलीमा १९२ जना, अदानचुलीमा १९२ र सवै भन्दा कम ताँजाकोट गाउँपालिकामा ६६ जना निरक्षर रहेको प्रतिबेदनले देखाएको छ ।

यी गाउँपालिकामा निर्धारित उमेर समुहको जम्मा जनसंख्या र साक्षर जनसंख्या भने यस्तो रहेको छ । नाम्खामा जम्मा दुई हजार ८८९ रहेकोमा त्यसमा दुई हजार ७७८ जनसंख्या साक्षर रहेको छ । त्यस्तै सिमकोटमा जम्मा आठ हजार ४४३ रहेकोमा आठ हजार ७२ जनसंख्या साक्षर रहेको छ ।

यता खार्पुनाथमा चार हजार ३२१ मा चार हजार १३४ साक्षर जनसंख्या रहेको छ । त्यस्तै सर्केगार्डमा सात हजार ४३८ मा साक्षर जनसंख्या सात हजार १२४ रहेको छ । चंखेलीमा चार हजार ५६ मा तीन हजार ८६४ जनसंख्या साक्षर छ । अदानचुलीमा चार हजार ३९९ जनसंख्यामा चार हजार २०७ जनसंख्या साक्षर रहेको छ भने ताँजाकोट गाउँपालिकामा ती हजार ८४१ जनसंख्यामा तीन हजार ७७५ जनसंख्या साक्षर रहेको छ ।

यसअघि सवै भन्दा पहिले खार्पुनाथ गाउँपालिकालाई २०७९ सालको असार ३१ गते ९५ दशमलव पाँच प्रतिशत जनसंख्या साक्षर भएपछि पहिलो गाउँपालिका घोषित गरिएको थियो । त्यसपछि २०८० बैशाख २५ गते ९५ दशमलव छ प्रतिशत जनसंख्या साक्षर भएपछि दोस्रो गाउँपालिकाका रुपमा सिमकोट गाउँपालिकालाई घोषणा गरिएको थियो ।

त्यसैगरि २०८० असार २५ गते ९५ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भएपछि सर्केगार्ड, सोही वर्षको असा २७ गते ९८ दशमलव २८ प्रतिशत जनसंख्या साक्षर भएपछि ताँजाकोट गाउँपालिका, असार २८ गते ९५ दशमलव ६४ प्रतिशत जनसंख्या साक्षर भएपछि अदानचुली , २९ गते९५ दहमलव २४ प्रतिशत साक्षर जनसंख्या भएपछि चङ्खेली गाउँपालिका २०८१ फागुन २७ गते ९६ दशमलव १६ प्रतिशत जनसंख्या साक्षर भएपछि नाम्खा गाउँपालिकालाई घोषणा गरिएको थियो । हुम्ला जिल्ला कर्णालीमा सातौ र देशमा ६७ औ स्थामनमा घोषित भएको हो ।