एसइईमा जन्ममिति छेकबारले विद्यार्थी समस्यामा

सि.टा. समाचारदाता
सिमकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमा सम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान पून लागु गरिएपछि विद्यार्थी समस्यामा परेका छन् । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ ।

तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो । त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी हुनाका लागि मात्रै १४ वर्ष पूरा भएको भए पुग्ने तर एसइईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यद्यपि शिक्षा नियमावलीमा भएको व्यवस्थालाई मन्त्रीस्तरीय निर्णयबाट हटाउन निर्देशन दिएको भन्दै त्यतिबेला पनि चर्चा भएको थियो । तर अहिले मन्त्रालयले फेरि शिक्षा नियमावली अनुसार १४ बर्से प्रावधान एसइईमै लागु गर्न भन्दै बोर्डलाई निर्देशन दिएको छ । व्यवस्था कार्यान्वयन भएको अवस्थामा अब (२०८२ सालमा) सञ्चालन हुने एसइईमा सहभागी हुने विद्यार्थीको उमेर २०८२ चैत मसान्तसम्ममा १४ वर्ष पूरा हुनैपर्छ । अर्थात् २०६८ साल चैत मसान्तभित्र जन्मेका विद्यार्थी मात्रै अबको एसइईमा सहभागी हुन पाउने छन् ।

बोर्डले अहिले कक्षा १० को रजिस्ट्रेसन फाराम भराइरहेको छ । फाराम भर्ने समय जेठ मसान्तसम्म तोकिएको छ । तर फाराम भर्नेक्रममा थुप्रै विद्यार्थीले यो उमेर पार नगरेको देखिएको छ । उमेरको समस्या देखाउँदै हिजोआज बोर्डमा विद्यालय, विद्यार्थी तथा अभिभावकबाट दैनिक गुनासो आउने गरेको छ । बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेका केही विद्यार्थीको उमेर १४ वर्ष पूरा हुन तोकिएको मितिभन्दा दुई÷चार दिन मात्रै कम देखिएको छ । केही विद्यार्थीको उमेर भने एसइईमा सहभागी हुने समयमा १२ वर्ष मात्रै पूरा हुने देखिएको छ ।

दुई÷चार दिन उमेर नमिल्नु स्वाभाविक हो । तर, विद्यार्थी १० कक्षामा पुग्दासमेत उमेर १२ वर्ष मात्रै देखिएको छ । यो अवस्थालाई कसरी स्वाभाविक मान्न नसकिने बोर्डले जनाएको छ । पक्कै पनि अभिभावकले बच्चाको जन्ममिति बिगारेर भर्ना हुने समयमा घटाएको हुनु पर्छ । वा कक्षा जम्प गराएर पढाएको हुनु पर्छ । यो अवस्थालाई कानुनले मान्ने ब्यवस्था गरेको छैन । तर २०७८ सालमा शिक्षा मन्त्रालयले एसइईमा सहभागी हुन १४ वर्ष उमेर पूरा भएकै हुनुपर्ने प्रावधान हटाएपछि कतिपय अभिभावक आफैँले विद्यार्थीको जन्ममिति सच्याएर वा कक्षा जम्प गराएर कलिलै उमेरमा माथिल्लो कक्षामा पठाउने गरेका थिए । अहिले फेरि मन्त्रालयले पुरानै व्यवस्था कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिएपछि समस्या आएको हो ।

तर मन्त्रालयले शिक्षा नियमावलीको प्रावधानलाई मन्त्रीस्तरीय निर्णय गरेर २०७८ सालमा हटाउनु नै गलत भएको जनाएको छ । अहिले नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न मात्रै भनिएको हो । यसमा कुनै समस्या आयो भने सहजीकरण गर्न बोर्डलाई भनिएको छ ।

धेरै विद्यार्थीमा समस्या परेपछि बोर्डले कक्षा १० मा रजिस्ट्रेसन फाराम भर्दा १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको छ । किनकि संसद्मा रहेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले एक पटकका लागि जन्मदर्ता सच्याउन सकिने व्यवस्था गरेको छ ।

केही नेपाल ऐन संशोधन विधेयक हाल राष्ट्रिय सभामा छ । तर उक्त व्यवस्था कहिले कार्यान्वयनमा आउँछ भन्ने एकिन छैन । उक्त व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले रजिस्ट्रेसन फाराममा लेखे अनुसार जन्ममिति सच्याउन सकिने छ ।