साहित्यकार रोकायाको उपन्यास शुक्लाम्बरा उपन्यासको बिमोचन

सि.टा. समाचारदाता
सिमकोट । नेपालगन्जकी साहित्यकार तारा खत्री रोकायाद्वारा लिखित उपन्यास शुक्लाम्बराको विमोचनसँगै गरिएको छ । पूर्णतारा फाउन्डेसन तथा भेरी साहित्य समाज, केन्द्रीय समिति नेपालगन्जद्वारा आयोजना गरिएको कार्यक्रममा उपन्यासको विमोचनसँगै भारतीय साहित्यकार र भेरी साहित्य समाजका पूर्व महासचिवलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले साहित्यकार तारा खत्री रोकायाद्वारा लिखित शुक्लाम्बरा उपन्यासको विमोचन गरेका थिए भने भारतीय साहित्यकारहरू शारिक रब्बानी, विणा वाहिनी चौबे, इर्शाद राही र भेरी साहित्य समाजका पूर्व महासचिव लेकप्रसाद प्याकुरेललाई सम्मान गरिएको थियो ।

साहित्यकार सुमित्रा न्यौपानेले .शुक्लाम्बरा उपन्यासको परिचर्चा गर्दै उपन्यास भित्र भएका विभिन्न पक्षलाई केलाएर हेर्दा उपन्यास समय सान्दर्भिक भएको बताईन । साहित्यकार ईश्वरीप्रसाद रिजालले उपन्यासबारे टीप्पणी गर्दै हुम्लाको परिवेशलाई उपन्यासले राम्रोसँग उतारेको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, डा.कृष्णप्रसाद घिमिरे, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत र सल्लाहकार डा. हरि तिमिल्सिना लगायतले साहित्यको विकासमा पुस्तकहरुको निकै योगदान रहने गरेको बताए ।

सो कार्यक्रममा भारतीय साहित्यकार शारिक रब्बानी, विणा वादिनी चौबे, इर्शाद राई, नेपाली साहित्यकारहरू सुन्दर गुरुङ, डा. डक्टप्रसाद धिताल, पार्वती पुन उषा, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गरेका थिए ।