चार वटा गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु

फोटो क्याप्सन सर्केगार्ड गाउँपालिकामा तयार पारेको स्थानीय पाठ्यक्रम । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका चार वटा गाउपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेका छन् । निक्कै लामो प्रयास र तयारी गरेर अन्तिम रुपमा दिएपछि ती गाउँपालिकाहरुले आफ्नो स्थानीय पाठ्यक्रम लागु गरेका हुन ।

पछिल्लो समय सर्केगार्ड गाउँपालिका स्थानीय पाठ्यक्रम “सुन्दर सर्केगार्ड” तयार पारेर लागु गरेपछि अब स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने गाउँपालिकाको संङ्या चार पुगेको हो । दुई वर्ष लगाएर तयार पारिएको स्थानीय पाठ्यक्रम गाउँपालिका भित्रका ३२ वटा विद्यालयमा लागु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाको संयोजक बिरजङ शाहीले बताए । कक्षा एकदेखि आठसम्म लागु गरिएको छ ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रम बारे सवै विद्यालयका प्रधानाध्याकसंग एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरि त्यसलाई लागु गरिएको छ । तत्कालका लागि तयार पारिएको स्थानीय पाठ्यक्रमका आधारमा विद्यालयमा पठन पाठन सुरु भएको छ भने आउदो दशैसम्म पाठ्यक्रमका आधारमा पाठ्य पुस्तक तयार पारि छपाई गरेर विद्यालयमा उपलब्ध गराउने तयारी भई रहेको छ ।

यसअघि उत्तरी नाम्खा गाउँपालिकाले लामा खाम भाषामा “ हाम्रो नाम्खा ” स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरि सकेको छ । यता त्यो भन्दा अगाडी ताँजाकोट गाउपालिकाले “हाम्रो ताँजाकोट” तयार पारेर लागु गरेको थियो भने सबै भन्दा पहिले सिमकोट गाउँपलिकाले “ हाम्रो सिमकोट” नामक स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरेको थियो ।

हालसम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरिएको भएपनि पाठ्यपुस्तक भने सवै गाउँँपालिकाले निर्माण गरेका छैनन् । विद्यालयमा पाठ्यक्रमका आधारमा पठनपाठन कार्य भने हुदै आएको छ । स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरेका गाउँँपालिकाहरुले ठाउँ बिशेषको सँस्कृति, भेषभूषा, रहनसहन, प्राकृतिक सम्पदा, सामाजिक चालचलन, धार्मिक तथा पर्यटकीय स्थल, नदीनाला, तालतलैया, मठमन्दिर लगाएत विषयलाई समेटिएको त्यसैका आधारमा विद्यालयमा पठनपाठन भई रहेको सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक कृष्ण प्रसाद आचार्यले बताए ।

स्थानीय पाठ्यक्रमको महत्व र प्रभावकारिता यसको कार्यान्वयन पक्ष हेरेपछि झनै बृद्धि भएको उनको भनाई छ । अब जिल्लाका खार्पुनाथ, चङ्खेली र अदानचुली गाउँँपालिकाले स्थानीय पाठ्यक्रम तयार पार्न बाँकी रहेको छ ।