जङ्गलमा बेवारिसे काठ कुहिने अवस्थामा

फोटो क्याप्सन बेवारिसे अवस्थामा राखिएको कुहिने अवस्थामा रहेको काठको थुप्रो । तस्बिर ःसि.टा

सि.टा. समाचारदाता
सिमकोट । मुगु जिल्लाको सदरमुकाम गमगडीदेखि हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको सलीसल्लासम्मको सडक खन्नेक्रममा कटानी भएको काठ कुहिने अवस्थामा पुगेको छ । धेरै रुखहरु काटिएको भएपनि त्यसको ब्यवस्थापन हुन नसकेपछि सो कोलिया काठ कुहिने अवस्थामा पुगेको हो ।

चङ्खेली गाउपालिका– १ को जाद्याको जङ्गलमा बेवारिसे काठ कुहिने अवस्थामा रहेको स्थानीय पठाने बुढाले बताए । उनले ग्रामीण पहुँच कार्यक्रमबाट मुगु हुम्ला लिंङ्क रोड निर्माण गर्ने क्रममा नेपाल सरकारको निर्णय अनुसार काटिएका सल्लाका रुखहरुलाई कोलिया काटेर राखिएको भएपनि हालसम्म कुनै प्रयोगमा ल्याउने कार्य नभएको कारण कुहिने अवस्थामा पुगेको बताए ।

दुई हजार भन्दा बढी क्यूविक काठ बेवारिसे अवस्थामा रहेको छ । खुला राखिएका कारण हिउदमा हिउले र बर्खामा पानीमा भिजेर चाँडै कुहिने अवस्थामा सो काठ पुगेको हो । उक्त कोलिया काठलाई एघार स्थानमा थुप्रो बनाएर राखिएको छ । तर प्रयोगमा ल्याउने कुनै प्रयास नगरिएको कारण त्यति कै खेर जाने अवस्थामा रहेको छ ।

प्रयोगमा ल्याउन सकेको भए धेरै काठको निर्माण सामाग्री तयार हुने अवस्था थियो । उक्त बेवारिसे अवस्थामाा रहेको काठलाई लिलाम बिक्री गरेको भए राजस्व समेत असुली गर्न सकिने अवस्था रहेको छ । सरकारी काम कहिले जाला घाम भने जस्तै सो काठ भएको अर्की यात्रु रेखा बोहराले बताईन ।

सो काठ प्रयोगमा ल्याउन सके अन्य बोटको सुरक्षा हुने र कुहिन लागेको काठको प्रयोग पनि हुने थियो । सडकसंगै जोडिएको स्थानमा काठलाई थुप्रो पारेर राखिएको कारण त्यसलाई ढुवानी गरेर ल्याउन पनि समस्या देखिदैन ।

सडक निर्माणका क्रम काटिएका बोटको काठ त्यसै खेर गई रहेको र टाढाको जङ्गल भएको कारण काठ प्रयोगमा ल्याउन नसकिएको डिभिजन बन कार्यालयले बताएको छ । त्यसलाई प्रयोगमाा ल्याउनेतर्फ कार्यालयले ध्यान दिने अवस्था पनि देखिएको छैन । कार्यालयका कर्मचारीहरुलाई उक्त काठ बेवरिसे अवस्थामा रहेको जानकारी समेत नभएको देखिन्छ ।