सि.टा. समाचारदाता
सिमकोट । सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तीमा आगलागी भएको छ । उनापानीको उक्त वस्तीमा आइतबार राती एघार वजेबाट सुरु भएको आगलागी सोमबार बिहान मात्र नियन्त्रणमा आएको र यसबाट आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका हुन ।

प्रहरी नायव उपरिक्षक शंकर पोखरेलका अनुसार राती ११ बजेबाट सुरु भएको आगलागीबाट आठ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन ।

घरहरु जोडिएर निर्माण गरिएको कारण यति धेरै क्षेती भएको हो । आगलागीको कारणबारे कुनै जानकारी भएको पीडित धनबहादुर रावतले बताए । सर्केगाड प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुविन शाहको नेतृत्वको टोली राती २ बजे घटनास्थलमा पुगेको थियो ।

प्रहरी र स्थानीयवासी मिलेर बिहान मात्र आगो नियन्त्रणमा ल्याउने कार्य थियो । आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, अन्य लत्ता कपडा, बिधाार्थीका कापी किताव, नागरिकता, घरको लालपुर्जाका साथै अन्य कागजातसहित नगद जलेर नष्ट भएको पिडितको .गुनासो रहेको छ ।

पीडित रावतका अनुसार आफ्नो घरमा भएको दुई लाख २० हजार नगद रुपियाँ समेत जलेर नष्ट भएको छ । त्यसैगरि पाँच वटा घरमा आंसिक क्षेती पुगेको छ ।

ती घरको गाह्रो भत्काएर घरभित्र भएको धनमाल बाहिर निकाल्ने कार्य गरिएको थियो । आगालागीबाट मानवीय क्षेती भने भएको छैन ।

प्रहरी चौकी समेत सर्केगाडमा भएकाले स्थानीयवासीको सक्रियतामा आगलागी निभ्याउने प्रयास भएको थियो । प्रहरीले मुचुल्का तयार पार्ने कार्य गरि रहेकोले क्षेतीको बिबरण भने आउन बाँकी छ ।
























