गाउँपालिकाद्धारा आफ्नै भवनबाट सेवा प्रवाह सुरु

फोटो क्याप्सन नवनिर्मित ताँजाकोट गाउँपालिकाको भवन । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नो नयाँ भवनबाट सेवा प्रदान गर्न सुरु गरेको छ । चार वर्ष लगाएर भवनको निर्माण कार्य सम्पन्न भएपछि सेवा प्रदान गर्न सुरु गरिएको हो ।

गाउँपालिका र संङ्घीय सरकारको लागत साझेदरीमा सुविधा सम्पन्न भवन निर्माण कार्य पुरा भएको ताँँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । औपचारिक रुपमा भवनमा नसरेको भएपनि आर्थिक प्रशासन र प्राबिधिक शाखाको सेवा प्रवाह गर्ने कार्य नयाँ भवनबाट सुरु भई सकेको छ ।

२०७८ साल बैशाख महिनामा भवनको निर्माण कार्य सुरु भएको थियो । साढे दुई तले पक्की भवनको निर्माण कार्य पुरा भई सकेकोले अब चाँडै औपचारिक रुपमा सर्ने उनले बताउदै भवनमा सभा हल, वैठक कक्ष, अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत कार्यकक्ष पनि भवन भित्रै रहेको बताए ।

बैठक तथा सभा हल बाहेक ३४ वटा कोठा भएको कारण गाउँपालिकाका सबै शाखाहरुले अव एउटै भवन सेवा प्रदान गर्ने हुनेछ । अर्को चार वटा शौचालयहरु पनि तयार भएका छन । आफु निर्वाचित भएपछि आफ्नै भवनबाट सेवा प्रदान गर्ने चाहाना अहिले आएर पुरा भएको बताउदै अध्यक्ष जैसीले भक्की भवन निर्माण गरेर सेवा प्रदान गर्ने जिल्ला कै पहिलो गाउँपालिका भएको बताए ।

हालसम्म भाडामा बस्दै आएको ताँजाकोट गाउँपालिकालाई अब भने आफ्नो भवन तयार भएपछि आर्थिक ब्ययभार पनि घट्नेछ । चार वर्ष निर्माण अवधि लागेको भवन निर्माणका लागि पाँच करोड लागत लागेको छ । कुल लागतमा साँढे दुई करोड गाउँपालिकाको लगानी भएको छ भने साँढे दुई करोड सङ्घीय सरकारले लागत ब्यहोरेको छ ।

गाउँपालिका भवनसम्म जानका लागि सडक निर्माण गर्ने पनि पुरा भएको छ । कच्ची भवन भएपछि आफ्नै भवन निर्माण गर्ने खार्पुनाथ गाउँपालिका पहिलो हो भने त्यसपछि सर्केगार्ड गाउँँपालिकाले पनि यही प्रकृतिको भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ ।

चङ्खेली गाउँँपालिकाको भवन निर्माणधिन अवस्थामा रहेको छ भने अदानचुली र सिमकोटले भवन निर्माण कार्य सुरु नै गरेका छैनन । यता उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो नाममा उपभोग पुर्जा हात पारि सकेको कारण आगामी आर्थिक वर्षबाट भवन निर्माण गर्ने कार्य सुरु गर्ने जनाएको छ ।