आज दश वजे बेलिब्रीजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्लाकाे खार्पुमा आउदै

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी माथि निर्माण भएको बेलिब्रीजको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आउन लागेका छन । बेलिब्रीजको निर्माण कार्य पुरा भएको र त्यसलाई सञ्चालनमा ल्याउनका लागि उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउन लागेका हुन ।

आईतबा प्रधानमन्त्री ओली नयाँ निर्माण भएको बेलिब्रीजको उद्घाटन गर्न हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । प्रधानमन्त्री ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगै हुम्ला आउने कार्यक्रम तय भएको छ ।

प्रधामन्त्री बिहान दश बजे खार्पुमा हेलिकोप्टरमा आई पुगेर बेलिब्रीजको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ । प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा लेख्दै केही दिन अगाडी अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसंग जोडिने दिन टाढा छैन भनेका थिए ।

सेनाले सो बेलिब्रीजको स्टिल पार्टको जडान कार्य पुरा गरेर एप्रोज वाल समेत निर्माण गरि सकेको छ । पुलको पश्चिमतर्फ ग्याविन वाल लगाउने कार्य समेत भई सकेको छ । जडान कार्यमा सेनाका प्राविधिकहरु आफै खटिएका थिए । बेलिब्रीज ५२ मिटर लम्बाई रहेको छ ।

गतवर्ष असारमा खार्पुसम्म सडक सञ्जाल जोडिएको थियो । दोजाम कर्णाली नदीमा पुल नभएको कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रीज निर्माणका लागि माग गर्नु भएको थियो ।

गत पुसमा सरकारले मन्त्रीपरिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रीजको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो । बेलिब्रीजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आए लगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगंज र काठमाडौंसम्म गाडीमा यात्रा गर्न सकिनेछ ।

अब एक मात्र सडक सञ्जाल नजोडिएको सदरमुकाम सिमकोट भन्ने भनाईको पनि अन्त्य हुनेछ । यसबाट सदरमुकाम सिमकोट यसै महिनाभित्र राष्ट्रिय सडक सञ्जलंसंग जोडिने भएको हो । सेनाले पनि सो बेलिब्रीज असार मसान्तसम्म सम्पन्न गर्ने गरि काम गर्ने जिम्मेवारी पाएको थियो ।