सि.टा. समाचारदाता
सिमकोट । एक जना कुष्ट रोगीको अवस्था नाजुक रहेको छ । रोग लागेदेखि चार वर्षयता उपचार गर्ने भन्दा पनि घरपरिवारबाट छुट्टै राखिदै आउनु भएका कुष्ट रोगका ती बिरामी हाल हिडडुल गर्न समेत नसक्ने भएपछि अबस्था दैनिक नाजुक बन्दै गएको हो ।
सिमकोट गाउँपालिका– ८ को याङ्गु गाउँका ७२ वर्षका धनबिर कामीलाई कुष्ट रोगले नाजुक अवस्थामा पुर्याएको उनलाई भेटेर आएका नेपाल नेपाल पत्रकार महासंघ हुम्ला शाखाका कोषाध्यक्ष मन्दिर सिंहले बताए । उनका अनुसार कुष्ट रोगी कामीलाई यो रोग लागेको छ वर्ष पुरा भएको छ ।
हाल आफ्नै घरमा थला परेर उपचारको पर्खाईमा रहेका छन । कुष्ट रोगी कामीले सुरुका दुई वर्षसम्म हिडडुल गर्न सक्ने र जिल्ला अस्पतालमा आएर उपचार समेत गरेका थिए । चार वर्षयता भने उनको कुनै उपचार हुन सकेको छैन । आथिृक अवस्था पनि दयनीय भएको कारण उपचार पनि सहज देखिएको छैन ।
कान पनि कम सुन्ने कामी हिडडुल गर्न नसक्ने भएपछि दिसापिसाव गर्न घिस्रेर जाने गर्दै आएका छन । उनलाई घरको छतमा एउटा सानो कोठा बनाएर राखिएको छ । झुत्रा कपडाको ओड्ने र ओछ्याउने ब्यवस्था गरिएको छ । कुस्ट रोगी कामीलाई उनका दुई भाईले एक एक महिनाको आलोपालोमा खानाको ब्यवस्था गर्दै आएका छन ।
कामीको कसैसंग बोलचाल समेत हुने गरेको छैन । यसले गर्दा कामीको अबस्थामा हेर्दा दयनीय रहेको छ । कामीले आफुसंग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सिंहले बताए । उपचार गर्न जाने अबस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता रहेको छ । उनको अपाङ्ग कार्ड सिमकोट गाउँपालिकाले उपलब्ध गराएको छ । तर कामीका आफन्तका अनुसार हालसम्म सहयोग भने कतैबाट प्राप्त भएको छैन ।























