बीपी कोइरालाको ४३औँ स्मृति दिवस मनाइँदै

सि.टा. समाचारदाता
सिमकोट । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २०३९ साढउन ६ गते उनको निधन भएको थियो।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्त्वपूर्ण राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाद्वारा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएर विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।

साहित्यका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्। उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि प्रकाशित छन्। सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेका छन्।

कोइरालाको जीवनका महत्त्वपूर्ण चीजबीज सङ्कलन गरी सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।