सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गरेको छ । यो कार्यक्रम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत निशुल्क रूपमा सञ्चालन गरिएको हो ।
पत्रकार महासंघमा कर्णाली प्रदेशमा आवद्ध ६९३ जना पत्रकारहरुको स्वास्थ्य बीमा गरिएको छ । बिमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बीमा अनुसार पत्रकारहरूले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार सेवा लिन सक्नेछन् । कुल बीमा खर्च करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
बीमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ । महासंघले प्रदेश सरकारले सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदमको रूपमा लिएको छ ।
सो कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका हस्तक्षेप नभई संरक्षण अनिवार्य भएको बताएका छन् । आईतबार कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बीमा लेख हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेशा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरेका हुन ।
मुख्यमन्त्री कक्डेलले पत्रकारिता सधैं सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेशा भएको बताए । यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुनु पर्ने उनको भनाई थियो । प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता परा हुने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मन्त्रालयका कर्मचारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
























