सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । बिशेष गरि मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको ब्यवस्था गर्न नसकिएको कारण पर्यटकहरु समस्यामा पर्ने गर्नु भएको हो ।
धार्मिक तथा पर्यटकीय स्थल लाप्चामा खानेपानीको ठुलो समस्या रहेको लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गरेर फिर्ता भएका सुर्य रावतले बताए । अन्य संरचना निर्माण कार्य भएको भएपनि खानेपानी जस्तो अति आवश्यक पर्ने कुरामा कसैको ध्यान जान नसक्नु दुःखको कुरा भएको उनकोे भनाई छ ।
हालसम्म जति पनि आन्तरिक तथा बाह्रय पर्यटकहरु लाप्चा पुगेर फर्केका छन, उनीहरुले तुम्लिङबाट बोकेर लगिएको पानीले काम चलाउने गरिएको छ । उनको समुहले लाप्चा पुग्दा पाँच लिटर पानी बोकेर जानु परेको थियो । त्यसैगरि लाप्चा पुगेर खानेपानीको समस्या भोग्नु भएका मोहन शाहीले त्यस्तो पर्यटकहरु आई रहने स्थानमा खानेपानीको ठुलो समस्या रहेको बताए ।
जानकारी नभएको कारण उन्हिरुको समुहले खानेपानी नबोकेको कारण ठुलै समस्या भोग्नु परेको थियो । पहिले पशुपालक बाहेक अरु कोही पनि नजाने गरेको अवस्थामा बिगत सात वर्षयता पर्यटकहरु लाप्चामा मानसरोवर कैलाशको दुरदर्शनका लागि जान थालेका छन ।
वर्षमा एक हजार पाँच सय भन्दा बढी आन्तरिक र बाह्र पर्यटकहरु लाप्चा पुग्ने गरेर र सबैले भोग्ने साझा समस्या भने खानेपानीको हुने गरेको छ । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले खानेपानीको समस्या भएको स्वीकार गर्दै यसको श्रोतको खोजी भई रहेपनि हालसम्म पत्ता लगाउन नसकिएको बताए ।
श्रोत पत्ता लागे खानेपानीका लागि लगानी गर्ने निकायहरु भेटाउन सकिने बताउदै उनले यो वर्ष पानीको श्रोतको खोजीमा लागि पनै बताए । यत्रो पर्यटकहरु आउने स्थानमा खानेपानीको ब्यवस्था गर्न नसक्नु लाजमदौ विषय भएकोले अब आफु पनि श्रोतको खोजीमा लाग्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।
आर्थिक वर्ष ०८१।०८२ मा आन्तरिक तथा बाह्र पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले खानेपानी बाहेकका अन्य संरचना निर्माण गरि सकेको छ । यसमा दृश्याबलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरुलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्विन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरु निर्माण गरिएका छन् ।























