सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता सुत्केरीलाई गाउँमा पुगेर हातहातमा बितरण गरिएको छ । प्रदेश सरकारबाट ढिलै गरि निकासा आएको कारण सम्वन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले आर्थिक वर्ष सम्पन्न भएपछि पनि उक्त प्रोत्साहन घर मै पुगेर बितरण गरिएको हो ।
सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकी अन्र्तगत स्याँडा गाउँकी सुत्केरी बिमला बुढाले प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन घरमा बितरण गर्न आई पुगेका स्वास्थ्यकर्मीबाट पाएको बताईन ।
यसको सही रुपमा सदुपयोग गर्ने बताउदै उनले यसअघि सङ्घीय सरकारले उपलब्ध गराउने सुत्केरी भत्ता र यातायात खर्च पाई सकेको बताउदै आफ्नो र शिशुको पोषणका लागि आवश्यक पर्ने खानेकुराको ब्यवस्था गरिने बताईन । कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लामा यो प्रोत्सहान सहयोग बितरण गर्दै आएको छ ।
उक्त स्वास्थ्य चौकीका संयोजक लवी रावतले वडाभरका सुत्केरीलाई उक्त प्रोत्साहन रकम घरघरमा स्वास्थ्यकर्मी पुगेर उनीहरु कै हातहात मै बितरण गरिएको बताए । यसअघि घरपरिवारका सदस्यहरुलाई सो सहयोग प्रलदान गर्दा दुरुपयोग गरिएको गुनासो सुत्केरीबाटै आएपछि यस पटक सम्वन्धित सुत्केरी कै हातमा प्रदान गरिएको हो ।
रकम बुझेपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरुले यसले गर्दा संस्थागत सुत्केरी गराउन सहयोग पुर्याएका कुरा बताएको उनको भनाई छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले प्रदेशबाटै ढिलो गरि आएको प्रोत्साहन रकम सवै वडामा स्वास्थ्यकर्मी पुगेर बितरण गरिएको बताए ।
एक जना सुत्केरीलाई दुई हजार पाँच सयका दरले सो प्रोत्साहन रकम बितरण गरिएको बताउदै उनले गत आर्थिक वर्ष २५३ जना सुत्केरीलाई बितरण गरिएको जनाए ।
यो रकम चार वटा स्वास्थ्य चौकी, तीन वटा सामुदायीक स्वास्थ्य इकाई, एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र एउटा जिल्ला अस्पतालमा वर्षभरि संस्थागत सुत्केरी गराउने महिलालाई बितरण गरिएको हो ।
प्रदेश सरकारको उक्त प्रोत्साहन रकमबाट पनि गाउँपालिकाभरका गर्भवती महिलाहरुलाई प्रोटोकल अनुसार गर्भजाँच र संस्थागत सुत्केरी गराउनमा महत्वपुर्ण सहयोग पुर्याएको शाखाले जनाएको छ ।




















