बोक्चे र भिगौडा सडकको निर्माण कार्य सम्पन्न

फोटो क्याप्सन सेनाले सडक निर्माण गरको भिगौडा सडक । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे र भिगौडाको सडकको निर्माण कार्य सम्पन्न भएको छ । कडा चट्टानी र अग्लो भीरलाई बिष्फोट गरेर सेनाले सडकको स्तरोन्नती गर्ने कार्य सम्पन्न गरेको करण सञ्चालनमा आएको हो ।

असजिलो र सडकको ग्रेड नमिलेको बोक्चे र भिगौडाको सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएकोे नेपाली सेना सो खण्डको सडक निर्माण कार्य दलका प्रमुख अम्रित पराजुलीले बताए । यी दुवै गौडामा बिष्फोट गर्ने कार्य गरेर सडक निर्माण गरिएको हो ।

केही स्थानमा बीस मिटर अग्लो चट्टानलाई बिष्फोट गरेर सडकलाई तल झारिएको बताउदै उनले सेनाले रात दिन बिष्फोट गर्ने र सडक मिलाउने कार्य गरेको जानकारी दिए । चट्टानी भीरमा छ देखि आठ मिटर सडक चौढा निर्माण गरिएको छ । चट्टानी सडकमा ग्रेड मिलाउने कार्य भएपछि यातायातका साधनहरुलाई सहज भएको छ । यी दुई वटा गौडाबिचको दुई सय मिटर सडकको चट्टान बिष्फोट गर्ने र ग्रेड मिलाउने कार्य भएको हो ।

यसअघि निर्माण कम्पनीले सो खण्डमा सडकको ग्रेड नमिलाएर कच्ची सडकको ट्रयाक खोल्ने कार्य गरेको थियो । सडकको यो अबस्था देखेर हुम्लावासीले उक्त सडकलाई स्तरोन्नतिका लागि सेनालाई दिन आग्रह गरेका थिए । यो मागलाई सम्बोधन गर्दै सरकारले गत पुस १७ गतेको मन्त्री परिषद वैठकबाट निर्णय गरेर उक्त गौडाको सडकको स्तरोन्नती गर्ने कार्य नेपाली सेनाको बिकास निर्माण दललाई दिने निर्णय गरेको थियो ।

सोही अनुसार सेनाले गत चैत २५ गतेबाट काम सुरु गरेको थियो । यसअघि भिगौडाबाट याङ्चु कुनासम्मको छ सय मिटर सडकको पनि स्तरोन्नती गर्ने कार्य यो अवधिमा गरेको हो । असजिला गौडाको सडकको स्तरोन्नती भएपछि अब सधैका लागि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

उनले यी गौडाको सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएपछि बन्द गरिएको सडक पनि सुचारु भएको बताए । निर्माण कार्य भई सकेको कारण सेनाले यातायात सेवा बन्द गरेको थियो । यो संगै सेनाले खार्पुको दोजाम कर्णाली नदी माथि निर्माण गरेको बेलिब्रीजको असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भएर सञ्चालनमा आएको थियो । यसअघि पनि सेनाले हुम्ला खण्डको कवाडीदेखि सलीसल्ला र दुल्लीकुनादेखि लालीबगरको सडक निर्माण कार्य गरेको थियो ।