सि.टा. समाचारदाता सिमकोट । नाम्खा गाउँपालिका– ३ को दह डिल मनोरन्जन लिने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पहिले प्रचारप्रसार नहुँदा उक्त क्षेत्र जाने पर्यटकहरु नभएपनि पछिल्लो तीन वर्षयता भने मनोरन्जनका लागि सो क्षेत्र जाने आन्तरिक पर्यटकहरु बृद्धि भएको हो ।
पर्यटकीय क्षेत्र दह डिल घुम्न र मनोरन्जन लिन आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या तीन वर्षयता बृद्धि हुँदै आएको छ । नाम्खा गाउँपालिका– ३ को खगालगाउँ निवासी पासाङ लामाले भदौ १ गतेसम्म ५३२ जना आन्तरिक पर्यटकहरु हद डिल पुगेर मनोरन्जन लिने कार्य भई सकेको बताए ।
सो क्षेत्रमा आगामी कातिक महिनासम्म जान सकिने छ । समय बाँकी नै भएको कारण दह डिल घुम्न जाने आन्तरिक पर्यटकहरु बढ्ने बिस्वास उनको छ । पर्यटकीय क्षेत्रहरुको दृश्यहरु जुटाएर डकुमेन्ट्री र पोष्टर लगाएत प्रचारका सामाग्री निर्माण गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको उनले बताए ।
उक्त क्षेत्रमा बिशेष गरि विद्यालयका शिक्षक र बिधार्थीहरु घुम्न आउने बताउदै उनले कर्मचारी पनि मनोरन्जन लिन आउने गरेको जानकारी दिए ।
बाह्य पर्यटकहरु भने हालसम्म नआएको बताउदै अझै प्रचारप्रसार नपुगेको उनले बताए । दह डिल घुमेर आउनु भएका बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले उच्च पाटनमा निक्कै रमणीय स्थान मात्र नभएर स्वच्छ र सफा हावापानी पनि भएको कारण एक पटक घुम्न जानै पर्ने स्थानमा रहेको बताए ।
प्राकृतिक रुपमा प्राप्त बिभिन्न फुलहरु फुल्ने, साना ठुला दह र ताल पनि तीन वटा रहेका छन । उक्त पाटनमा बुकी फुल पनि प्रसस्त रहेको छ । चार हजार मिटर उचाईमा रहेको दह डिल पुग्न कच्ची सडक निर्माण गरिएको कारण यात्रा गर्न पनि कठिन छैन । दहको नजिकै गाडीबाट झर्न सकिने भएको कारण पैदल हिड्न पनि पर्दैन । सो क्षेत्र घुम्न जानका लागि एक रात बासवस्ने गरि जानु उपयुक्त देखिन्छ । यात्राका लागि तीन दिन लाग्ने गर्छ ।















