कातिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्न पाईने

सि.टा. समाचारदाता
सिमकोट । मतदाता नामावली दर्ता प्रक्रिया फेरि सुरु भएको छ। निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएको छ। मतदाता नामावली दर्ता कात्तिक ३० गतेसम्म गर्न सकिनेछ। १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सक्नेछन्।

कानुनतः १६ वर्ष पुगेका व्यक्तिले नागरिकतासँगै मतदाता नामावली बनाउन पाउनेछन् तर मतदानमा भाग लिन भने १८ वर्ष पुगेको हुनुपर्छ। मतदाता नामावली दर्ता सातै प्रदेशका निर्वाचन कार्यालयमा बिदाको दिनबाहेक बिहान ८ बजेतदेखि ६ बजेसम्म गर्न सकिने आयोगको विज्ञप्तिमा छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेसँग मतदाता नामावली दर्ता प्रकृया रोकिएको थियो। तर सरकार अध्यादेश लिएर निर्वाचन मिति घोषणा भए पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो।