समावेशी समूहमा फड्को ः अठार वर्षमा २६ हजार दुई सय चौहत्तर जना सिफारिस

सि.टा. समाचारदाता
सिमकोट । लोक सेवा आयोगबाट गएको आर्थिक वर्षमा समावेशी समूहबाट एक हजार ५६ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भए । आव २०८१÷८२ को अवधिमा छ समावेशी समूहबाट ८४९ पदका लागि विज्ञापन गरिएकोमा अघिल्लो वर्ष बाँकी रहेका पदहरूको समेत जोडी सो सङ्ख्यामा उम्मेदवार सिफारिस भएका हुन् ।

आयोगका अनुसार निजामतीतर्फका १० सेवा तथा सङ्घीय संसद्, स्वास्थ्य सेवा तथा राष्ट्रिय मानव अधिकार आयोगतर्फका सिफारिस हुन् । आफैँ अन्तर्वार्ता लिने र नियुक्त गर्ने गरेकाले सुरक्षा निकाय र सङ्गठित संस्थाबाट समावेशी समूहतर्फ सिफारिस भएका उम्मेदवारको सङ्ख्या उक्त तथ्याङ्कमा समावेश छैन ।

आयोगले महिलातर्फ ३६५, आदिवासी÷जनजातितर्फ २७३, मधेशीतर्फ २३३, दलिततर्फ ९६, अपाङ्गतातर्फ ४६ र पिछडिएको क्षेत्रतर्फ ४३ उम्मेदवार सिफारिस भएको जनाएको छ । विगत १८ वर्षमा सबै समावेशी समूहबाट कुल २६ हजार २७४ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगले आव २०८१÷८२ मा निजामती सेवातर्फ दुई हजार ५८३ उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिसमध्ये ९०२ जना महिला र एक हजार ६९० पुरुष छन् । जसमा राष्ट्रिय मानव अधिकार आयोगतर्फ नौ जना सिफारिस भएका छन् । कुल सिफारिसको करिब ३४ प्रतिशत महिला छन् । सिफारिसको सो सङ्ख्या २०७६÷७७ देखि २०८१÷८२ मा भएका विज्ञापनको हो ।

रिक्त पदपूर्तिका लागि माग भएअनुसार ४९६ वटा बढुवा विज्ञापन, १४१ वटा आन्तरिक प्रतियोगितात्मक परीक्षा, २८६ वटा खुला प्रतियोगितात्मक परीक्षा र ५९० वटा विभिन्न समावेशी समूहका गरी एक हजार ५१३ वटा विज्ञापन प्रकाशन गरिएको आयोगले जनाएको छ । आयोगले बढुवातर्फ एक हजार ५०, आन्तरिकतर्फ ३२२, खुलातर्फ ९५० तथा समावेशी समूहतर्फ ८४९ गरी कुल तीन हजार १८१ पदका लागि आयोगले आह्वान गरेको थियो ।

आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल चार लाख ५९ हजार ८३४ दरखास्त परेको थियो । सबैभन्दा बढी सर्लाहीबाट १८ हजार ४४२, धनुषाबाट १५ हजार ७८४, बाराबाट १५ हजार ७३७, महोत्तरीबाट १५ हजार ४५२ र रौतहटबाट १४ हजार ७५३ छन् । मनाङ, मुस्ताङ, रसुवा, रुकुमपूर्व र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त परेको आयोगले जनाएको छ । पाँच वटै जिल्लाबाट कुल दुई हजार १८२ जनाले दरखास्त दिएका थिए ।

आयोगले पछिल्लो वर्ष नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल–नेपाल गरी तीन वटा सुरक्षा र ४० वटा सङ्गठित संस्थाका १७ हजार ४९२ पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्न सहमति प्रदान ग¥यो । चार सुरक्षा निकाय र ३३ सङ्गठित संस्थाका ७२८ विज्ञापनका लिखित परीक्षाबाट २१ हजार ६७० जना उम्मेदवार छनोट गरी अन्तर्वार्ताका लागि पदपूर्ति समितिमा पठाइएको आयोगले जनाएको छ ।

बढी सिफारिस हुने पाँच जिल्ला

लोक सेवा आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा जुम्ला, स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौँका छन् । सिफारिसमध्ये जुम्लाबाट ११५, स्याङ्जाका ९२, गुल्मीका ८०, धनुषाका ७२, काठमाडौँका ७१ जना छन् । मुस्ताङबाट एक जना मात्रै सिफारिस भएका छन् ।

मनाङबाट यस वर्ष कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगमा मनाङबाट १५ र मुस्ताङबाट ५३ जनाले आवेदन दिएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आयोगले आव २०८१÷८२ मा गरेको गतिविधिसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।