सि.टा. समाचारदाता
सिमकोट । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला गरि बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने छ । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको छ ।
महाशाखाले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने जनाएको छ ।
त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्ने जनाईएको छ ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो ।



















