सि.टा.समाचारदाता
सिमकोट । स्थानीयको थर अनुसार पुरानो पुस्ताको बिबरण, धर्म, साँस्कृति, चाडपर्वहरुको दस्तावेजीकरण गर्ने कार्य सम्पन्न भएको छ । पछिल्लो पुस्तालाई आफ्नो पुर्खाका बारेमा जानकारी लिन सहज होस भन्नका लागि यो कार्य वडाले पुरा गरेको हो ।
सिमकोट गाउँपालिका– ५ का बलजिते नेपालीले वडा भित्रका सवै थर अनुसारको दस्तावेज तयार गर्ने कार्य स्थानीयको सहयोगमा वडा पुरा गरेको बताए । साठीदेखि ९७ वर्षसम्मका वडाका सवै जेष्ठ नागरिकलाई एक्कै स्थानमा जम्मा पारेर दस्तावेजीकरणको महत्वका वारेमा जानकारी गराउदै यो बिबरण लिने कार्य भएर त्यसलाई प्रबिष्ठ गराउने कार्य सम्पन्न भएको होे ।
वडाको यो कार्यले पछिल्लो पिढीलाई आफ्नो पुरानो पुस्ताको बारेमा जानकारी लिन सहज हुने गर्छ । वडा अध्यक्ष चिनबहादुर रावतले काम त स्यानै भएपनि यसबाट महत्वपुर्ण जानकारी आउने ठानेर नै यो कार्य गरिएको जानकारी दिए । उक्त वडामा रावत, रोकाया, बोहरा, भण्डारी, कामी र सार्की थरका मानिसहरु बसोवास गर्दै आएका छन् ।
एउटा घरको पछिल्लो पुस्ताले आफ्नो हजुर बुवा भन्दा अघिको पुस्ताको बारेमा जानकारी नहुने अबस्था देखिएपछि यो कार्यले आफ्नो अघिल्लो पुस्ताको बारेमा पत्ता लगाउन जता वसेपनि जानकारी लिन सहज हुने बिस्वास गरिएको छ । वडाका वसोवास गर्ने थरका नौ पुस्तासम्मको बिबरण संकलन गर्ने कार्य भएर त्यसको दस्तावेज तयार गर्ने कार्य गरिएको छ ।
दस्तावेजमा सुरुमा आउने पुस्ताको बारेमा पनि जानकारी राखिएको छ । यो बिबरण सबै संङ्कलन भएर त्यसलाई कम्प्यूटरमा प्रबिष्ट गर्ने कार्य भएको र अब दसैँ लगत्तै वेभसाईटमा समेत राखिने वडा सचिव सन्दिप रोकायाले बताए । उक्त दस्तावेजमा वडा भित्रका मुख्य चाडपर्व, घरगहना, रीतिरिवाज, चालचलन, धर्म साँस्कृतिलाई पनि समेटिएको छ ।















