टासी ल्हान्जोम बारे भ्रम सृजना नगर्न हुम्लावासीको आग्रह

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीको हल्जी बस्तीकी टासी ल्हान्जोम बारे अनावश्यक टिकाटिप्पणी नगर्न हुम्लावासीले आग्रह गर्नु भएको छ । वर्तमान सरकार बिस्तार हुन लागेको मन्त्रीमण्डलमा उनको नाम पनि चर्चामा आएसंगै उनका बारेमा टिक्काटिप्पणी भई रहेका बेला हुम्लाका राजनीति नेतृत्व र जननप्रतिनिधिहरुले सो आग्रह गरेका हुन ।

ल्हान्जोम बारे जानकारी गराउदै कर्णाली प्रदेश सभाका सदस्य एवं पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले एक देश भक्त, लिमी हल्जी गाउँका धनीमानी ब्यक्ति कुतु तामाङ कि नातिनी भएको बताउदै हुम्लामा लिमी बस्ती जति पूरानो हो, उनको पनि त्यति नै पुरानो हुम्लावासीको सन्ततति भएको बताए । ल्हान्जोम बारे सामाजिक सञ्जालमा आएको टिप्पणी अनावश्यक, नबुझी गरिएको खण्डन भएको उनको भनाई छ ।

एउटा स्वाभिमानी नेपाली नारीलाई बिभिन्न खाले लान्छाना नलगाउन पनि उनले आग्रह गरे । पुख्यौली लिमी भएकी ल्हान्जोमका बुवाले आजको मितिसम्म पनि लिमीको हल्जी गाउँँ नछोडेको बताउदै कसरी छोरी तिब्बतीय हुन सक्ने भन्दै आरोप लगाउनेलाई उनले प्रश्ना गरे । कुनै समय उनका बाजेका डेढ दुई सय चौरी र एक हजार दुई सय भेडाच्याङ्र समेत भएको उनले सबैलाई स्मरण गराए ।

त्यसैगरि हुम्ला जिल्लाका निवर्तमान सांसद छिरिङ डम्डुल लामाले आज हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ को हल्जी गाउँ निबासी लाक्पा छिरिङ तामाङ्गको छोरी “टासी ल्हाजोम “ खास नेपाली भएको कुरामा द्धिबीधा नभएको बताए । टासी ल्हान्जोम हुम्ली चेली, हिमाल कि छोरी भएकै कारण नेपाली नागरिक भएको स्मरण गराउदै ल्हान्जोमको पुर्खाले युगौदेखि नेपालको उत्तरी सिमानाको रक्षा गर्दै आएको समेत बताए । उल्टै चिम्से आँखा, थेप्चे नाक, गोरो वर्ण र भोटे लामा भाषा बोलेकै कारण नेपालको उत्तरी सिमा रक्षक भएर वस्नेलाई सधैं तिब्बतीयन देख्न उपयुक्त नहुने उनले बताए ।

त्यसैगरि लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले ल्हान्जोमलाई तिब्बती नभेर लगाएको आरोप सरासर गलत भएको बताए । आफु पनि सोही गाउँको स्थायी बासिन्दा भएको कारण ल्हान्जोम जन्मेदेखिको कुरा आफुलाई स्पष्ट थाहा भएको बताए । त्यसैले एक स्वाभिमानी पढेलेखेकी दुर्गममा जन्मेकी नेपाली नारीलाई अनेक खाले बिना प्रमाणका आरोप लगाईनु पाप लाग्ने पनि उनको भनाई छ ।

सत्य र प्रमाण बिनै ल्हान्जोमको चरित्र हत्या गर्न खोजिनु अपराध भएको बताउदै एउटा दुरदराजमा जन्मेकी चेलीलाई अगाडी बढ्न नदिने जाल भएको पनि उनले बताए । त्यसैगरि अधिकारकर्मी नन्द सिंहले ल्हान्जोम माथि लगाएको आरोप अनावश्यक भएको बताउदै यस्तालाई पनि कारवाहीको दायारामा ल्याउनु पर्ने बताए । बास्तव मै ल्हान्जोम हुम्लावासी भएको कुरामा कुनै शंका नभएको बताउदै उनलाई तिब्बती भन्नेले प्रमाण सहित अगाडी आउन चुनौती सिंहले दिए ।