लोग भण्डारी
सिमकोट । उच्च पाटनमा पालनका लागि लगिएका चौरी गाई छ महिना पछि नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका बस्ती ल्याईएको छ । उच्च पाटन क्षेत्रमा हिमपात भएर चिसो बढेपछि चौरी गाईलाई बस्तीमा ल्याईएको हो ।
पालनका लागि गत बैशाख अन्तिमा साता लिमीका बस्तीबाट तुम्लिङ र ताक्ची हँदै लाप्चा क्षेत्रमा सारिएका चौरी गाईलाई यतिबेला बस्तीमा फिर्ता ल्याईएको लिमीको हल्जी गाउँका स्थानीय फुर्वा तामाङले बताए ।
लाप्चा क्षेत्रको पाटनमा हिमपातपछि चरन क्षेत्रमा बरफ जमेर चिसो बढेपछि चौरी गाई लगाएत अन्य पशबस्तुलाई पनि बस्ती मै ल्याउनु परेको होे । चौरी गाईसंगै गोठाला पनि छ महिनापछि घरमा फर्केका छन । अर्को कुरा अन्नवाली भित्र्याएपछि उदाउनी खानका लागि चौरी गाई पनि जग्गामा छोडिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
चौरी गाई र अन्य पशुबस्तु गाउँमा आई पुगेपछि रमाईलो हुन थालेको उनको भनाई छ । लिमीका तीन गाउँ मध्य तील र हल्जीमा चौरी गाई ल्याईएको छ । जाङ गाउँमा तीन घरधुरी रहेको र उनीहरु अब एक हप्ताामा काठमाडौं फिर्ता हुने भएपछि आफ्ना चौरी गाई हल्जी गाउँका आफन्त जिम्मा लगाउने कार्य गरेका छन । गोठालाहरुले चौरी गाईसंगै घ्यू, छुर्पी, नौनी, थुत र चीज पनि ल्याएर आउनु भएको छ ।
यतिबेला लिमीमा चौरी गाईको घ्यू र छुर्पी बिक्री गर्न थालिएको छ । यतिबेला लिमीका बस्तीमा आई पुगेका चौरी गाई अब हिउदभर गाउँ मै राखिने छ । आगामी बैशाख अन्तिम साता पून उच्च पाटनतर्फ पालनका लागि लगिने छ । लिमीमा हाल डेढ सय भन्ददा बढी चौरी गाई पाल हुदै आएका छन् ।




















