एक महिनादेखि सिमकोट गाउँपालिकाको आर्थिक कारोवार ठप्प

फोटो क्याप्सन सिमकोट गाउँपालिकाको कार्यालय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा एक महिनादेखि आर्थिक कारोवार ठप्प हुँदै आएको छ । तीन महिनाका लागि आर्थिक अधिकार प्रदान गरिएका निमित्त प्रशासकीय अधिकृतको अवधि सकिनु र नयाँ खटाएका प्रशासकीय अधिकृत जिल्ला मै नआई अन्यत्र खटाईए पछि गाउँपालिकाको आर्थिक कारोवार ठप्प भएको हो

साउनदेखि तीन महिनाका लागि आर्थिक कारोवार गर्ने गरि जिम्मेवारी पाउनु भएका निमित्त प्रशासकीय अधिकृत बर्षबहादुर फडेराको सो अबधि सकिएको एक महिना पुग्दा पनि मन्त्रालयले खटाएका प्रशासकीय अधिकृत बिशान श्रेष्ठ जिल्ला मै नआई पुगेको कारण आर्थिक कारोवार ठप्प भएको सिमकोट गाउँपालिकाका लेखा अधिकृत बिशाल बोहराले बताए ।

मन्त्रालयले खटाएका प्रशासकीय अधिकृत गाउँपालिका मै नआएर अन्यत्र खटाईएको कारण पनि थप अन्यौल सृजना भएको र गाउँपालिकामा आर्थिक पक्षसंग जोडिएका सबै गतिबिधि ठप्प भएको हो । दशै अगाडी मन्त्रालयले सिमकोट गाउँपालिकाको प्रशासकीय अधिकृतका लागि खटाएका श्रेष्ठ गाउँपालिकामा नआएरै अन्यत्र खटाईएको तर उक्त पदमा अन्य ब्यबस्था मन्त्रालयले नगर्दा यो अवस्था सृजना भएको हो ।

यसले गर्दा भुक्तानी दिने कार्य पुर्ण रुपमा रोकिएको र योजनाका सम्झौताका कार्य पनि ठप्प भएका छन् । महिना सकिना लागेकोले कर्मचारी र जनप्रतिनिधिहरुलाई दिनु पर्ने पारिश्रमिक रोकिएको छ भने सामाजिक सुरक्षा भत्ता पनि भुक्तानी दिन नसकिने अवस्था रहेको छ । मासिक तलव भत्ता बाहेक शैक्षिक क्यालेण्डरका अन्य कुनै कार्यक्रमको भुक्तानी पाउन नसकिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए । काम सम्पन्न गरेर पनि प्रशासकीय अधिकृत नआएकै कारण सात वटा फाईल रोकिएको हो ।

यसले गर्दा शैक्षिक क्यालेण्डर प्रभावित भएका छन् । यता स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले प्रथम चौमासिकमा गर्नुपर्ने काम पनि गर्न नसकिएको बताए । छ वटा काम गरेर पनि भुक्तानी लिन नपाईएको, औषधी ब्यवस्था भएपनि भुक्तानी दिन नसकिएको, स्वास्थ्यका कर्मचारी भर्ना गर्न नसकिएको जस्ता समस्या प्रशासकीय अधिकृत कै कारण समस्या भोग्नु परेका छ ।

त्यसैगरि गाउँपालिकाद्धारा प्रदान गरिदै आएको दिवा खाजा र आवासीय सुविधामा बस्दै आउनु भएका बिधार्थीहरुको भुक्तानी पनि रोकिएको छ । मन्त्रालयमा यस सम्वन्धमा जानकारी लिन खोज्दा कुनै जवाफै नआउने गाउँपालिकाले जनाएको छ ।