सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सहुलियत मुल्यको खाद्यान्न कोटा थप गरेको छ । यसअघि लिमिटेडले सिमकोट शाख र दुई वटा डिपोबाट निर्धारण गरेको खाद्यन्न सवै बिक्री भएपछि उक्त मुल्यको खाद्यान्न थप गरिएको हो ।
लिमीटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार लिमिटेडले सहुलियत मुल्यको खाद्यन्न कोटा थप भएको छ । सो थपिएको सहुलियत मुल्यको खाद्यान्न शाखा र डिपोमा बिक्री समेत सुरु भएको छ । दोस्रो पटक थपिएको सहुलियत मुल्यको खाद्यान्न कोटामा दुई हजार पाँच सय क्वीन्टल खाद्यान्न एक सय क्वीन्टल चिनी र दुई हजार लिटर तेल रहेको छ ।

यो सहुलियत मुल्यको खाद्यान्न उपभोक्ताको माग अनुसार लिमीटेडले थप गरेको हो । गत भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो । हालसम्म दुई हजार ४०३ क्वीन्टल खाद्यान्न, ४४ दशमलव ४९ क्वीन्टल चिनी र दुई हजार २३९ लिटर तेल बिक्री हुँदा एक करोड ८६ लाख १५ हजार ५३४ रुपियाँको बिक्री भएको थियो । खाद्यान्न बिक्रीमा शाखासंग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहाना अनुसार सबै खाले चामल बिक्री भई रहेको छ ।
उपभोक्ताको आबश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको थियो । त्यसैगरि अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगर, सर्केगार्ड गाउपालिकाको सर्केगार्ड डिपो, नाम्खा गाउँपालिकाको बिक्री केन्द्र याल्वाङबाट सहुलियत पसलबाट खाद्यान्न बिक्री भएको थियो । लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो
























