अस्पतालका बिरामी घाम तापेर उपचार गर्दै

फोटो क्याप्सन जिल्लााा अस्पतालको चौरमा घाम ताप्दै गरेका बिरामी र कुरुवा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला अस्पताल हुम्लामा भर्ना हुनु भएका बिरामीहरु दिउसो चौरमा घाम तापेर उपचार गर्दै आउनु भएको छ । पछिल्लो समय चिसो निक्कै बढेपछि अस्पतालको बेडमा बस्दा चिसो हुन थालेपछि बिरामी र कुरुवा घाम ताप्न चौरमा निस्कनु भएको हो ।

अस्पताल भर्ना भएकी बिरामी चौकी सिंहले दिउसो बेडमा चिसो हुने भएपछि बाहिर चौरमा ओछ्यान लगाएर घाम ताप्ने गरिएको बताईन । दमको बिरामी भएकी उनले आवश्यक परे चिकीत्सक र स्वास्थ्यकर्मी पनि दिउसो चौरमा घाम तापी रहेका बिरामीहरुलाई चेकजाँच गर्न आउने गरेको बताईन । भित्र बस्न चिसोले कठिन हुने भएपनि चिकित्सकहरुले पनि घाम ताप्न जाने सल्लाह दिने गरेको उनको भनाई छ ।

त्यसैगरि आफ्नी दिदी अस्पतालको प्रसुती गृहमा सुत्केरी गराउनु भएकी सोजन रोकायाले वार्डमा चिसो धेरै हुने भएको कारण सुत्केरी दिदी र नवजात शिुशुलाई घाम तताउन चौरमा ल्याएको बताईन । घाम ताप्न पाएपछि बिरामीलाई पनि न्यानोको अनुभव हुन थालेको र चिसोबाट बचाउन सहज भएको छ ।

एक दिनमा चौधदेखि अठार जना बिरामीहरु चौरमा घाम तापी रहेको अवस्था देखिने गरेको छ । मङ्सिर महिना लागेयता चिसो निक्कै बढेको कारण बिरामीहरुलाई घाम ताप्न चौरमा लिन दिन थालिएको अस्पतलाकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो । यसरी चौरमा घाम ताप्न निस्कने बिरामीहरुमा सुत्केरी, दम तथा मिनोनियाका बिरामी रहेको बरिष्ठ अनमी बोहराले बताईन ।

अन्य जटिल र जेष्ठ नागरिकलाई भने अस्पतालले न्यानोका लागि हिटरको ब्यवस्था गरेको कारण उनीहरु भने घाम ताप्न चौरमा जानु पर्देन । चिसो बढ्नु र धुवाँधुलोले गर्दा मौसमी फ्लुका बिरामीहरु बढी रहेको बताउदै यसबाट बच्न बिशेष ध्यान दिन आग्रह उनले आाग्रह गरिन ।